एक बृहत र देशव्यापि निर्यातमुखि उद्योगको प्रस्ताव



तपाईँ समाधानमुखि व्यक्ति हुनुहुन्छ र इतिहास र वर्तमानका भुमिका पढ्न मनपराउनु हुँदैन भने सिधै यो लेखको तेश्रो भागमा जानुहोस्, समाधान त्यहाँ प्रस्तावित गरिएको छ।


Gurkhas in Tunisia. Second World War

Gurkhas in Tunisia. Second World War

नेपालको इतिहासमा लडाईँको ठूलो महत्व छ। हुन त सबै देशको इतिहासमा हुन्छ- तर नेपालको हकमा लडाईँको प्रमुखता अलि बढि नै छ।

नेपालको इतिहासमा लडाईँको भुमिका

पृथ्विनारायण शाहले देश एकिकरण गरेको समय देखि हेर्ने हो भने नेपालले धेरै युद्धहरु लडेको छ। पहिले राज्य-राज्य बिच लडाईँ- जस्तै पाल्पा भर्सेस गोरखा, लम्जुङ्ग भर्सेस तनँहु, काठमाडौँ भर्सेस भक्तपुर, इत्यादि। त्यसपछि गोरखा भर्सेस बाकिँ सबै राज्यहरु। पृथ्विनारायण शाह कालमै पनि नेपालले हाल भारतमा भएका भुभागहरुसँग धेरै लडाईँ खेल्यो।

बहादुर शाह आएपछि त ३० वर्षमै नेपालको भुभाग जति विस्तार भयो, त्यसले अनुमान लगाउन सकिन्छ कति युद्धहरु भए होलान्- नेपाल भर्सेस सिक्किम, नेपाल भर्सेस गडवाल, इत्यादि। नेपालले तिब्बत र तिब्बतीहरुका सहयोगार्थ आएका चिनियाहरुसँग पनि लडे, भारतीय राज्यहरुसँग पनि लडे र बेलायतीहरुसँग पनि। नेपालको दरबारमै आपसमा धेरै लडाईँ र काटमार चलिरहेकै थिए। बेलायती सेनाको भाग भएर नेपालीहरु बर्मा, जापान ईत्यादिसँग पनि लडे। प्रथम र द्वितिय विश्वयुद्ध दुबै लडे।

A child playing with a broken gun.

A child playing with a broken gun (Picture: Ben Tubby's flicker)

नेपालभित्र प्रजातन्त्र ल्याउने भनेर विभिन्न पार्टिहरु खडा भए र उनीहरुले पनि लडाईँ खेले- गोर्खा दल, नेपाली काङ्ग्रेस, इत्यादि। भारतबाट बेलायतीहरु गएपछि भारतीय सैनिकका तर्फबाट नेपाली नागरीकहरुले पाकिस्तान र चिनसँग लडिरहे। नेपालमा पञ्चायत आएपछि काङ्ग्रेसको ओखलढुङ्गा विद्रोह र कम्युनिष्टको झापा विद्रोह आदिजस्ता लडाईँ गरिए। नेपालीहरु फल्कल्याण्डमा लडे, कोसोभो र बोस्नियामा लडे, अफ्गानिस्तान र ईराकमा पनि लडे। शान्तिसेनाको रुपमा अफ्रिका र दक्षिण अमेरीकाका देशहरू, मध्यपूर्बको लेबनानजस्ता धेरै देशहरुमा तैनाथ भए।

नेपालमा ४६ साल आयो-गयो, तर लडाईँ रोकिएन। भुमिगत रहिरहेका केहि कम्युनिष्ट नेताहरुले आफ्नो सेना बनाए, युद्ध खेलाए। सरकारले सेना थप्यो, सशस्त्र प्रहरी बनायो। मान्छे टन्नै मरे। नेपाली जनजिब्रोमा सैनिक पदावलीहरु मिसिन थाले- कुना-कन्दराका स्कूलहरुमा अङ्ग्रजी पढाउँदा ए फर आर्मी, जी फर गन, एच् फर हेलिकप्टर, आर फर राईफल भनेर पढाईएको पढ्न-सुन्न पाइएको थियो। नेपालीहरुले एसएलआर, बम डिफ्युज, कर्डन एण्ड सर्च, सुरक्षा फौज, एम्बुस, भिडन्त, दुश्मन जस्ता शब्द सुन्न नपाएको दिनै हुन्थेनन्।

१० वर्षपछि के हुने होला?

नेपालको अहिले जति सैनिकिकरण कहिल्यै भएको थिएन होला। अहिले नेपालको युवा जनसंख्यापनि निकै धेरै छ- देशको कूल जनसंख्याको आधा भन्दा बढि। नेपाली समाजको यो रुपको छापामारीकरणले ती सबैमा अधैर्यता, आक्रोस, लड्ने-भिड्ने तयारी आदि प्रचुर मात्रामा देख्न पाईन्छ। आर्थिक अबन्नति र जनसंख्याको यस्तो सन्तुलनले गर्दा लडेर र झम्टेर बाहेक अरु तरिकाले आफ्नो भाग शिक्षा, खाना, रोजगारी, परिवार आदिको बारेका ढुक्क हुनसक्ने स्थिती नभएरै यस्तो स्थिती श्रृजना भएको हो। आजकल केहिसय रुपैया दिएर कसैको गाडिको सिसा फुटाउने वा टायर बाल्ने मान्छे पाउन धेरै मेहेनत गर्नु पर्दैन। जुलुस र आक्रमणमा गएर पैसा आउने गति मन्द भए गर्नुपर्ने काम अपराध नै हो र हाम्रो समाजमा अपराधिकरणको बढ्दो क्रमले पनि यो पुष्टि गर्छ।

A child recruited by Maoists in their army

A child recruited by Maoists in their army (Click on picture to go to the source of the picture)

झन् गम्भीर कुरा त यो पुस्ताको यस किसिमको मनस्थिति अरु नयाँ पुस्ताहरुमा झन् डरलाग्दो किसिमले सरिरहेको छ। लड्न, खोस्न, पिट्न, ध्वस्त पार्न, आगो लगाउन, चर्को कुरा गर्न र मार्न तयार हुने हो भने जे पनि प्राप्त गर्न सकिने रहेछ भन्ने खाल्को सन्देश हाम्रो समाजले आफ्ना कलिला मानिसहरुलाई सिकाईरहेको छ। अहिले स्कूल पढ्ने वा २० वर्ष पुगेका, जागीर खोज्दै गरेका तर नपाएका, विदेश जानुभन्दा अरु उपाय नदेखेका र बढ्दो मुल्यबृद्धि र खस्कदो आर्थिक स्तरले सोझो तरिकाले जति नै कमाएपनि केहि नहुने देखेका यी मानिसहरुको कृयाकलापले अहिले, अबको १० वर्षपछि (जब उनीहरु २५-३०-३५ वर्षका हुन्छन्), र २० वर्षपछि देशमा के हुने होला भनेर कोहि सरोकारवालाले ध्यान दिइएको पाईँदैन। अहिलेको अन्यौलग्रस्त, अराजक, बेरोजगार, दिशाहिन र जतिखेरै अपराधि र आक्रामक मनस्थितीमा पुग्नसक्ने यो पुस्तालाई समयमै सम्हालेर राख्न नसकेको खण्डमा यो कुन रुपमा विष्फोट हुने हो?

यसरी पार्टटाईम र ओभरटाईम समेत गरेर नेपालमा आक्रामकता (militancy) जसरी बढिरहेको छ, यदि त्यसको समयमै निदान गरिएन भने भोली यसले के भयाभह रुप लिने हो, भन्न गाह्रो छ। नेपालमा जातीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक द्वन्द चर्कियो भने झन् के हुने होला?

समाधान: एक बृहत र देशव्यापि निर्यातमुखि उद्योग

सङ्केतहरु हेरौँ: नेपालमा जुनसुकै पार्टीले गरेका आमसभा, जुलुस, बन्द जस्ता कार्यक्रममा पनि मान्छेको कुनै कमी देखिदैँन। अझ तोडफोड गर्न चाहिने पाखुराहरुलाई नियन्त्रण गर्न मुश्किल परिरहेको छ। वाई सी यल, युथ फोर्स, तरुण दल जस्ता सङ्गठन र अरु थुप्रै गाउँ र शहर स्तरका युवाहरुको अपराधी जमातमा युवा सङ्गलग्नताको कुनै कमी छैन। नेपालमा जागीर यति मुश्किल छ र राम्रो आम्दानी त यती परको कुरा कि कुनै रिक्त सरकारी पदमा विज्ञापन खुल्दा र वैदेशिक रोजगारीको अवसर प्राप्त हुँदा करिब-करिब लाख नै पुग्ने जति मानिस आवेदन हाल्छन्। कार्यकर्ताहरुलाई जागीर खुवाउन यसकारणै पार्टीहरु उद्दत छन्। आजकल त झन् सेनामा जागीर नखुवाई पार्टिहरुलाई कार्यकर्ता फकाउन मुश्किल बन्दैछ। यसैकारण उसैपनि निकै ठूलो भनिने नेपालको सेनामा थप ६-७ हजार माओवादी र ५-१० हजार मधेसी युवा प्रवेश गराउने कुरा चल्दैछ। उपलब्ध आरक्षण कोटापनि नपुगेको भन्दै बिभिन्न समुदायहरु आवाज उठाईरहेका छन्।

“]A scene from a strike called demanding a separate autonomous state by the Maoist-affiliated ethnic rights group, the Newa Mukti Morcha.

A scene from a strike called demanding a separate autonomous state by the Maoist-affiliated ethnic rights group, the Newa Mukti Morcha. (Picture: BBC)

समाधान के होला त? म लडाईँलाई नेपालको राष्ट्रिय उद्योग बनाउने समाधान प्रस्ताव गर्दछु। उसैपनि माथि उल्लिखित कुराहरुले गर्दा नेपालमा छिट्टै आर्थिक विषयहरुले प्राथमिकता पाउने, रोजगारी र आम्दानि बढ्ने, युवाहरुले राम्रा अवसरहरु पाउने सम्भाछना निकै कम छन्- किनकी कसैको पनि त्यता ध्यान गएकै छैन। बरू अझै आ-आफ्ना सैनिक दस्ताहरु बनाउने, दशौँ हजारको बलिदान गराउन सक्ने, माग पुरा नभए रगतको खोला बगाईदिने, विश्वविद्यालयलाई ब्यारेक बनाइदिने, देश ठप्प पारिदिने, आन्दोलन गर्ने, कब्जा गर्ने, ध्वस्त पार्ने- यस्तै यस्तै कुरा मात्र सुन्न पाईन्छन्। त्यसकारण नेपाली समाज आफैँले नै आफ्नो दिशा, परिचय र भविष्यको रुपमा अझै बढि आक्रामकता, सैनिकिकरण र अराजकतालाई अङ्गालिरहेको जस्तो देखिन्छ। नेपालीहरुले सबैभन्दा गर्व गर्ने केहि कुराहरुको माथी माथी तिरै “वीर गोर्खाली” पर्न आउने हुँदा यस्तो निष्कर्श आपत्तिजनक होईन होला।

त्यसैकारण हामी पुरै देशलाई फौजी बनाऔँ। उद्योगकै स्तरमा सैनिक विस्तार गरेपछि तिनलाई निर्यात पनि गर्नुपर्यो- हैन भने कसरी खाने-लाउने? विश्वमा धेरै स्थानहरुमा लडाईँ भइरहेका छन, भइरहनेछन्, कति स्थानहरुमा लडाईँपछि शान्ति स्थापना कार्यहरु चल्दैछन्। हामी जहाँ जहाँ लड्ने मानिसहरु चाहिन्छन्, त्यहाँ तुरुन्त सेना पठाइदिने व्यवस्था गरौँ। अरु देशहरुले सेनामा धेरै खर्च गर्नु नपरोस र युद्ध जित्ने कुरामा धेरै टाउको दुखाउनु नपरोस् भनेर हामी उनिहरुसँग टन्न पैसा लिनेगरी आफ्नो बहादुर सेना उनीहरुको कार्यको निम्ति लगाईदिउँ। उसैपनि फ्रान्समा “फ्रेन्च फरेन लिजन” भन्ने यस्तै भाडाको निम्ति लड्ने मानिसहरुको (mercenary) आधिकारिक सैनिक संस्था नै छ। हामीले उद्योगकै रुपमा यसलाई विकास र प्रवर्धन गर्न सक्यौँ भने त झन् कत्ति गज्जब हुने थियो होला?

अफ्गानिस्तान, कस्मिर, तिब्बत, बर्मा, ताईवान, कोरीया, मध्यपूर्व, इरान, अफ्रिकाका द्वन्दग्रस्त मुलुकहरु, चेचेन्या, जर्जीया, मेक्सिको, आयरल्याण्ड, कोलम्बिया, हाईटि, पेरु, निकारागुवा, एल-साल्भाडोर जस्ता कत्ति हो कत्ति देशमा हाम्रा युवाहरु रोजगारी पाउनेछन् र युद्ध गरिरहेका हुनेछन्। आधिकारिक युद्धहरु बाहेक देश र समुदायका आन्तरिक द्वन्दहरुमा पनि हामीले सेना र छापामारहरु निर्यात गर्न सके के थाहा भोली न्युयोर्कको “अकुपाई वालस्ट्रिट” आन्दोनलको अग्रपङ्कतिमा टायर जलाउने, सिसा फोड्ने, कालोमोसो दल्ने र ढुङ्गा हान्ने सबै बहादुर कार्यहरुको अगुवाई नेपालबाट निर्यातित लडाकु जथ्थाले पो गरिरहेको हुन्छ कि? अफ्रिकामा सरकार बदल्ने, इजिप्टमा धर्ना बस्ने, सिरियामा राजाको विरुद्ध आन्दोलन गर्ने जस्ता धेरै कामहरुमा दुनिँयामा जनशक्तिको निकै ठूलो माग छ। हामीले त्यो पुरा गरिदिन सक्ने हो भने नेपालको अर्थतन्त्र, रोजगारीको स्थिति, पर्यटन, विश्वमा साख यी सबै कुराहरु कति बढेर जाने थिए होलान्? हाम्रो देश साँच्चिकै गज्जबको नयाँ नेपाल र संबृद्ध हुने थिएन होला त?

लडाईँलाई नेपालको राष्ट्रिय उद्योग बनाउँदा कस्तो होला?

Could she use our exports? Right: A woman in Middle East throwing rock in a protest. Left: A Nepali Congress activist during a protest in 2009.

Could she use our exports? Right: A woman in Middle East throwing rock in a protest. Left: A Nepali Congress activist during a protest in 2009. (Pictures: Pradeep Shrestha/AFP/Getty Images, sgforums.com)