नेपालमा बलियो दक्षिणपन्थको खाँचो


प्रष्ट र बलिया दक्षीणपन्थी अडानहरु बेगर हाम्रो आर्थिक विकास र उद्दमशीलतामा प्रगती हुने सम्भावना छैन

पाठकहरु, शीर्षक पढेर केहि बिचार बनाइसक्नुभएको भए कृपया एकछिनलाई सो त्याग्ने प्रयास गर्नुहोला। “दक्षिणपन्थ” भन्ने शब्दले प्राय नेपालीहरुको मनमा नकारात्मकता जगाउँदछ। हामीलाई दक्षिणपन्थी भन्नेबित्तिकै दलाल, सामन्ती, प्रतिगामी, विदेशीका गोटि र अझ दक्षिण भन्ने शब्दले गर्दा भारतपरस्त भनेर सोच्ने बानी परेको छ। हामीलाई सिकाइएकै यस्तै छ। नेपाल एक बामपन्थी मुलुक हो- पहिले के थियो थाहा छैन, तर हिजोआज दिनप्रतिदिन यसको बामपन्थीकरण बढ्दैछ। मैले मुलुकलाई नै बामपन्थी भन्दैछु- यसको मतलब हाम्रो समाज, राष्ट्रिय चिन्तन, मूल संचार माध्यमहरु, सामाजिक बहस र मुद्दाहरुमा पुरै वामपन्थ हावि छ (यसको कारण र इतिहासको बारे म छिट्टै अर्को लेखमा विश्लेषण गर्नेछु)। त्यसैले यस्तो वातावरणमा हुर्केर, बढेर, सिकेर दक्षिणपन्थको बारे नकारात्कम सोच बन्नु अचम्म होईन।

(Picture: mikeldunham.blogs.com)

  • दक्षिणपन्थको भारतसँग कुनै सम्बन्ध छैन

    राजनीतिका दुई मुख्य ध्रुब वामपन्थ र दक्षिणपन्थलाई अङ्ग्रेजीमा “left-wing” र “right-wing” भनिन्छ। दक्षिण एसियाली भाषाहरुमा “rightists” लाई दायाँपन्थी वा दाहिनेपन्थी नभनेर दक्षिणपन्थी किन भनियो मलाई थाहा छैन।

  • दक्षिणपन्थ भनेको खराब होईन

    दक्षिणपन्थ दुँनियाभर नै प्रचलित छ, प्राय समाजहरुमा करिब करिब आधा-आधा बामपन्थी र दक्षिणपन्थी प्रभाव हुनेगर्दछ। अमेरीकी सरकार र सदनमा प्रायजसो यी दुई सिद्दान्तले चिनिने दलहरुको बराबरी उपस्थिति हुनेगर्दछ- यद्दपी मेरो बिचारमा अमेरीका मूलत दक्षिणपन्थी देश हो किनकी बायाँपन्थी भनेर चिनिने डेमोक्राटिक दलको झुकाव विस्तारै दक्षिणपन्थतिर ढल्किन थालेको धेरै भइसक्यो। बेलायतमा त बिसौँ शताब्दिको अधिकांश समय दक्षिणपन्थीहरुले नै शाषण गरे। भारतमा गान्धिको युगपछि वामपन्थ मृतप्राय छ- त्यहाँ “द हिन्दु” जस्ता केहि पत्रिका बाहेक मिडियामा पनि दक्षिणपन्थ नै हावि छ, मूल राजनीतिक चिन्तन पनि त्यस्तै छ।

    युरोपीय देशहरुको स्थिती अलि भिन्न छ। अमेरिकामा भन्दा फरक, त्यहाँ हरित (green), अराजक (anarchist) जस्ता विभिन्न राजनीतिक धारका दलहरु प्रभावशाली भुमिकामा छन्। त्यहाँ दक्षिणपन्थी र बामपन्थीहरु मिलेर सरकार बनाउने वा चुनाव अनुसार आ-आफ्नो गठबन्धन बनाएर सरकार बनाउने प्रचलन छ। त्यसकारण त्यहाँ पुरै दक्षिणपन्थ वा पुरै वामपन्थ भन्दा पनि मिसिएको प्रणाली र सामाजिक बनोट छ। सोभियत संघको बढ्दो प्रभाव घेरा र पुँजीवादि प्रजातन्त्रको बिच सामन्जस्य अपनाउने क्रममा यस्तो भएको हुनसक्छ। त्यसकारण, युरोपी देशहरुमा सामाजिक न्याय र कल्याणकारी प्रावधानहरु, बलियो सरकार, उच्च कर, निजी पुँजीको रक्षा, व्यक्तिगत स्वतन्त्रता, खुला समाजजस्ता दक्षिणपन्थ र वामपन्थ दुबैथरीका व्यस्थाहरु छन्।

  • दक्षिणपन्थ के हो त?

    दक्षिणपन्थ र वामपन्थको बिचमा छुट्याउनको निम्ती विभिन्न मुद्दाहरुमा लिइने अडानको बारे जानकारी हुनुपर्दछ। मुख्य दक्षिणपन्थी सिद्दान्तहरु यसप्रकार छन्: व्यक्तिगत स्वतन्त्रतालाई उच्च महत्व, नागरिक जीवनमा सरकारको न्यून भुमिका र हस्तक्षेप, समान कर व्यवस्था, खुला बजार अर्थतन्त्र, आदि। बामपन्थीहरु भने यसका विपरित सिद्दान्तहरुमा विश्वास गर्छन। प्राय समाजहरुमा उग्र दक्षिणपन्थी (ultra-right) र उग्र बामपन्थी (ultra-left) वा कम्युनिष्ट (communist) बिचार बाहेक मध्यमार्गी दक्षिणपन्थी (right-of-center) र मध्यमार्गी (centrist) र मध्यमाग्री बामपन्थी (left-of-center) राजनीतिक धारहरु प्रचलिन हुन्छन् र दुबैथरी धारहरुमा उदार र कट्टर खेमाहरुको उपस्थिती हुन्छ।

    यी दुईका बाहेक अरुपनि धारहरु छन् र कतिपय अवस्थामा मानिसहरु कुनै एक धारमा मात्र पुरै नढल्कि दुबैथरीका केहि-केहि मान्यताहरुको समर्थन गर्दछन्। जस्तै: “समाजका कमजोर वर्गलाई राज्यले बलिया वर्गसँग उठाएको करले राहत र सहयोग गर्नुपर्छ तर बलिया वर्गहरुको प्रगतीमा पनि राज्यले सहयोग गर्नुपर्दछ वा कम्तीमा अवरोध गर्नुहुँदैन- त्यसकारण उनीहरुलाई चर्को कर लगाउनु हुँदैन” भन्ने मान्यतामा दुबै धारका सिद्दान्तहरु अङ्गालिएको छ। आफ्ना मान्यताहरु कुन धारप्रति ढल्किएका छन् भनेर पाठकहरुले आफैँ छुट्टयाउने प्रयास गर्नुभए धेरै प्रश्नहरुको जवाफ पाउनुहुनेछ।


माथि उल्लेख गरिएका र अन्य विश्वभर स्विकार गरिएका दक्षिणपन्थी सिद्दान्तहरुपनि नेपालमा भने निरन्तरको प्रोपागाण्डाले गर्दा ओझेल परेका छन्। दक्षिणपन्थलाई पुरै खराब र हानीकारक, निमिट्यान्नै पार्नुपर्ने खतरनाक रोगको रुपमा चित्रित गरिएको छ। राजनीतिमा आफ्नो पक्षको जितको निम्ति अर्कोलाई हराउने प्रयास गर्नु अस्वाभाविक होईन, तर समाजका अन्य तप्काहरुपनि सन्तुलित विचार र बहस सम्प्रेषण गरी राजनीतिले अपुरा छाडेका क्षेत्रहरुमा जिम्मेवारीपूर्वक पुरक भूमिका निभाउनुको साटो उल्टो दिशामा चलिरहेका छन्। दक्षिणपन्थप्रति समाजमा वितृष्णा फैलाउन उनीहरुले बामपन्थिहरुसँगै होस्टेमा हैँसे गरेका छन्। यसमा नेपालका दक्षिणपन्थीहरुको पनि दोष छ किनकी आफ्ना अडानहरु स्पष्टसँग बुझाउन नसकेर, त्यसप्रति समर्थन जुटाउन नसकेर वा चाहिने संरचना र संस्थाहरुको विकास नगरेर उनीहरुले आफूलाई कमजोर बनाए र आज पुरै समाजको बामपन्थीकरण एकहिसाबले बेरोकटोक रुपले अघि बढिरहेको छ। नेपालमा प्राय सबै मिडिया, चिन्तकहरु, मूल मुद्दामा सुनिने बहस र अडानहरु, सामाजिक अभियन्ताहरु लगायत ठूलो हिस्साको आजको स्थान भनेको उग्र वामपन्थ वा मध्यमार्गी वामपन्थ नै हो।

राजनीतिमा वामपन्थ, दक्षिणपन्थ र अन्य धारहरुको स्थान। The political spectrum

राजनीतिमा वामपन्थ, दक्षिणपन्थ र अन्य धारहरुको स्थान। The political spectrum (Picture: wrobels.org)

नेपालको बेरोकटोक बामपन्थीकरणका देखिने केहि लक्षणहरु:

  • धन-आर्जन खराब हो भन्ने मान्यताको बढ्दो लोकप्रियता

    हाम्रो समाजमा धनी भईसकेका वा हुँदै गरेकाहरु सबै ठग, शोषक र खराब हुन् भन्ने बिचारले निकै स्विकृती पाईरहेको छ। प्राय समाचार वा ब्ल्गहरुमा व्यापारी वर्ग, एन-जी-ओ आई-एन-जी-ओ, धनाड्यहरु, पुराना र स्थापित परिवार र घरानाहरुबारे लेखिने अधिकांस सामग्री र तीनमा देखिने कमेन्टहरु वा सुनिने प्रतिक्रियाहरु आँखै चिम्लेर अनुमान गर्दा पनि मिल्ने खालका हुन्छन। प्रस्तुतीको शैली-भाषा र पाठकलाई विष्लेषण पस्किनुको साटो एकपक्षिय र अक्सर प्रायोजित (र बामपन्थी) निष्कर्षहरु दिनाले पाठकहरुलाई धेरै रोजाई उपलब्ध हुँदैनन्। राम्रो वा खराब के हो भन्ने बारे एक मात्र सुचना वा समाचार अथवा एकपक्षीय धारणाकै आधारमा निष्कर्शमा पुग्नु त्यति राम्रो होईन। त्यस्तै, कसैले धन कमाउँदा अरुको भाग खोसेर खाएकै हुन्छ भन्ने जरुरी छैन, कुनैपनि व्यापार मानिसले मुनाफा कमाउने र धनआर्जन गर्ने भनेरै गरेको हुन्छ र समाजको विकास र प्रगतीको निम्ति त्यस्तै उद्दम गर्ने, धन, ख्याती वा अन्य उपलब्धिकै पछि लागेर मेहेनत गर्ने मानिसहरुकै जरुरत हुन्छ।

  • बहुमत नै सही हो भन्ने मान्यता

    सबै मानिस दानी, त्यागी, दयालु, सर्वगुणसम्पन्न र संवेदनशील हुनु जरुरी छैन र समाजमा लोभी, विलासी, महत्वाकांक्षी, छुच्चो, जसरीपनि सफल हुन खोज्ने, निर्दयी र कुनै करुणा-भाव नभएका मानिसहरु पनि हुन्छन्। मानव सभ्यता यहाँसम्म आइपुगेको नै त्यस्तै संघर्षहरु गर्दै, अरुलाई हराउँदै, आफू बचेर अघि बढ्नेहरुका कारणले हो। कसैलाई कमाएको धनले समाजसेवा वा देशको भलो गर्ने मन छैन र बरु मोजमस्ती गर्न मन छ भने त्यो उसको निजी रोजाई हो। आधुनिक समाजमा अरुका अधिकारको हनन नहुने गरी असहमत हुने र कसैलाई अप्रिय र गलत लाग्ने कुराहरु बोल्ने वा सोच्ने पनि छुट हुनुपर्दछ- सबैले एकै धारणा राख्नुपर्छ र “असल” हुनैपर्छ भन्नु मानवको प्रकृतिप्रदत्त अधिकारहरुमाथिको हमला हो। राज्यका निर्देशक सिद्दान्त र नियम-कानूनको परिधी भित्र रहने त्यस्ता मानिसहरुको पनि अधिकारहरुको सुरक्षा हुनुपर्दछ।

  • शक्तिको केन्द्रिकरणप्रतिको मोह

    केहि समय अघि संचारमाध्यमहरुमा देखिएको शासकिय स्वरुपबारेको बहस निकै रोचक थियो, तर सबै किसिमका तर्कहरुमा एउटा अनौठो समानता थियो। समाजको भविष्य निर्धारण गर्ने पुर्ण जिम्मा सरकारलाई सुम्पने बारे सबै बहसकर्ताहरु सहमत झैँ देखिन्थे। वास्तवमा संविधानको उद्धेश्य “नागरिकलाई अधिकार प्रदान गर्नु” भन्दा “शासकका अधिकारहरू सिमित गर्नु” रहनुपर्ने हो। मानिसहरुलाई प्रकृतीले नै स्वतन्त्र र अधिकारसम्पन्न बनाएको छ, त्यसकारण “मानव-अधिकार” सरकार वा संविधानले जनतालाई “प्रदान गर्ने” विषय होईन। मानवका “प्रकृती-प्रदत्त अधिकार” (natural rights) हरु कुनै सरकार वा राजनीतिक व्यवस्थाले दिने वा नदिने भन्ने बहसको विषय नै होईन। सरकार र शक्तिको प्रकृती नै निरंकुश बन्न खोज्ने र जनताका अधिकारहरु सङ्कुचित गर्न खोज्ने हुन्छ, त्यसकारण राज्यलाई निरंकुश बन्न नदिन र जनताका अधिकारहरु हनन हुने स्थिती आउन नदिने प्रायोजनका निम्ति राज्य, सरकार, निर्देशक सिद्धान्त र संविधान आदिको व्यवस्था गर्नुपरेको हो।

    मौका मिलेको बेला राष्ट्रपति, प्रधानमन्त्री र संसद सबै नै निरंकुश बन्न सक्छन् भन्ने तथ्य विश्व इतिहासले प्रष्ट पारिसकेको छ। नेपालमा राष्ट्रिपति, प्रधानमन्त्रीलाई वा संसदलाई होईन, जनतालाई सबैभन्दा बलियो बनाउनु आवश्यक छ।

  • प्रोपागाण्डाको विजय

    वामपन्थ विज्ञान होईन, वामपन्थ एउटा सामाजिक-राजनीतिक विश्वास र सिद्धान्त हो। वामपन्थ कहिँ उपयुक्त हुनसक्छ, कहिँ नहुनसक्छ, कहिँ केहि मात्र आवश्यक हुनसक्छ, कहिँ कत्तिपनि आवश्यक नहुनसक्छ। कम्युनिजम भनिने उग्र वामपन्थ पनि कुनै प्रयोगशालाबाट आविष्कार भएको विज्ञान होईन। प्रमाणित विधिहरु पटक-पटक अपनाउँदा पनि परिणामहरु परिवर्तन नहुने र पिअर-रिभ्यू (peer-review) बाट पनि सदर भई प्रकाशित भएपछि मात्र कुनै सिद्धान्तलाई वैज्ञानिक भन्न मिल्छ। कम्युनिजम सोभियत रुसमा केहि मात्रामा सफल भएको थियो, उत्तर कोरीया, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, भारत, चिन र पूर्वि युरोपमा असफल भएको छ। क्युबामा कम्युनिजम सफल भएको भनिन्थ्यो तर सोभियत संघको सहयोग जारी नभएको आजकलका वर्षहरुमा त्यहाँ कम्युनिजमले काम गर्न छाडेको स्विकारोक्ति स्वयं फिडेल क्याष्ट्रोले व्यक्त गरेका छन्।

    तर नेपालमा निरन्तरको शब्द प्रयोगले कम्युनिजम “बैज्ञानिक” र “बस्तुबादि” भएको भ्रम स्थापित गरिँदैछ। जे-कुरामा पनि बिज्ञानको हवाला दिँदै सवारी भाडा व्यवस्थापन, नेपाल-बन्द, जातीयता, शान्ति प्रकृया र संविधान निर्माणदेखि लिएर प्राय सबैजसो कुराको अगाडि “बैज्ञानिक” शब्द झुण्ड्याउने लहड चलेको छ। कुनैपनि कुरालाई “बैज्ञानिक” भनिदिएपछि विज्ञानको विकास कमजोर रहेको हाम्रो समाजमा प्राय मानिसहरु त्यसलाई सही होला भन्ठानेर प्रतिकार गर्ने साहस गर्न सक्दैनन्।

    उग्र दक्षिणपन्थी र उग्र बामपन्थी दुबैको प्रिय हतियार प्रोपागाण्डा हो। बामपन्थीमय बनेको हाम्रो देशमा अहिले उग्र-बामपन्थी प्रोपागान्डा सर्वस्विकृत झैँ बनेको छ। समाजका सबै तप्काहरु हातमा हात मिलाउँदै यो अभियानमा सहभागी छन्। समाजको बलियो बर्गमाथि गरिने निरन्तरको प्रहार र घृणा अनि सामन्ती, अपराधी, भ्रष्ट, प्रतिगामी, दलालजस्ता शब्दहरुको प्रचारले कुनै किसिमको बिरोध खेप्नुपर्दैन। त्यस्तै जाती विशेषलाई खुलेआम किटेरै दोषारोपण गर्ने, आरोप लगाउने र अपमान-घृणा फैलाउने असहिष्णु जातिवादी (racist) कार्य दिनहुँजसो बिनारोकटोक चलिरहेकै छ। “नयाँ नेपाल” जस्तो अस्पष्ट, भ्रमपूर्ण र खरतनाक शब्दप्रयोगलाई प्रतीकात्मक होईन कुनै विज्ञान नै जस्तो गरेर सबैले अङ्गालिसकेका छन् र अब त कुनै कुराको आलोचना गर्ने बैज्ञानिक तरिका भनेको सो कुरा “पुरानो नेपाल” को हो भन्नुमात्र काफि भएको छ।

किन चाहियो दक्षिणपन्थ?

दक्षिणपन्थीहरु परम्परा, इतिहास र धरोहरहरुको रक्षा र निरन्तरता चाहन्छन्- नेपालमा दक्षिणपन्थ कमजोर भएकै कारण हामी आफ्नो ऐतिहासिक पहिचान र धरोहरहरुको ध्वंस भइराखेको हेर्न बाध्य छौँ र बाटो बिराएको र सभ्यता समाप्त भएको देशमा बदलिँदैछौँ। हामी राजनीतिक संस्थाहरुलाई चाहिनेभन्दा बढि शक्तिशाली बनाउँदैछौँ- वास्तवमा सरकारलाई सबै कुराको जिम्मा दिने तर्फ होईन कि प्रत्येक नागरिक सचेत र उद्दमी बन्नसक्ने वातावरणको तर्फ हाम्रा पाइलाहरु लम्किनुपर्दछ। राष्ट्रपति, प्रधानमन्त्री वा संसद जेसुकै भएपनि उनीहरुलाई देशको सम्पूर्ण बागडोर सुम्पिएमा अहिलेको जस्तो दिनैभरी लोडसेडिङ्ग, खाना पकाउने ग्याँसको लागी हाहाकार, जनताकै करले गरिएका सामान्य कार्यहरुको पनि सुचना लुकाउन चाहने शासकहरु र हजारौँ युवाहरुको पलायनबाट हामीले मुक्ति पाउने छैनौँ, हामी झनै राजनीतिक संस्थाहरुमै आश्रित हुनेछौँ र उनीहरुको दया-मायामा हाम्रो जीवन भरपर्नेछ। बरु हामीले आफ्ना संस्थाहरु बलिया बनाउनुपर्दछ, जसले हामीलाई आफ्ना कामहरु गर्न वाधा होईन सहज बनाओस्। हामीले नागरिक जीवनमा न्यून राजनीतिक हस्तक्षेप, कानूनी शाषण, उत्तरदायी संसद, प्रभावकारी निर्वाचन, नीति-निर्माणमा जनसहभागीता, सबल र असल प्रशासनयन्त्र, सहयोगी प्रहरी संगठन, राम्रा शैक्षिक संस्थाहरु, गुणस्तरीय स्वास्थ्य सेवा, व्यापार-व्यवसाय गर्ने वातावरण, व्यक्तिगत स्वतन्त्रता, पारदर्शी सरकार र सहिष्णु समाज कसरी प्राप्त गर्न सकिने खालका प्रावधानहरु राख्नुपर्दछ, न कि राजनीतिलाई अनावश्यक शक्ति दिएर सबै क्षेत्रमा नचाहिँदो हस्तक्षेप गर्न निम्त्याउने।

नेपाली समाजमा असमानता व्याप्त छ, त्यसकारण दक्षिणपन्थी तरिकाहरुले मात्र हाम्रो समाजका कमजोर वर्गको चाहिने जति हित हुनसक्दैन। हामीलाई कमजोरहरुको उत्थानको निम्ति वामपन्थ र बलियाहरुको स्थानको निम्ति दक्षिणपन्थ दुबै चाहिएको छ। बलियाहरु कमजोर हुने हो भने भने पुँजी लगानी, उद्धोग-धन्दा, व्यापार-विस्तार जस्ता कार्यहरुमा हामी कमजोर हुन्छौँ, रोजगारी श्रृजनाका अबसरहरु कम हुन्छन् र विकासको दर कम हुन्छ। अहिले यस्तै भईरहेको छ। मुनाफा कमाउने सुरक्षित वातावरण बनाई कमजोरहरुलाई बलिया बन्ने अवसरहरु प्रदान केहि सिमित कर उठाउनु, सार्वजनिक सेवाहरु र सामाजिक न्याय र सुरक्षाका प्रावधानहरुलाई सबल बनाउनुपनि उत्तिकै आवश्यक छ। अहिले नेपालमा युवाहरुले उद्दम गर्नसक्ने पर्याप्त स्थिति नै छैन, लगानीकर्ताहरुले पनि लगानी गर्न सकिरहेका छैनन्, किनकी पैसा कमाउने भन्ने बित्तिकै खराब र बाकिँ समाजप्रति उनिहरुलेमात्र उत्तरदायित्व ननिभाएझैँ गरी बौद्धिक-भनाउँदाहरुको आक्रमण शुरु हुन लगानी उठेर मुनाफा कमाईसकेको पनि हुनुपर्दैन। शब्द-वाणको मात्र प्रहार हैन मुनाफामा हिस्सा खोज्ने, धम्काउने, लखेट्ने र लुट्नेसम्मको प्रवृत्ति हामीलाई त “ठिकै त हो नि, ठगहरुलाई” भनेर स्विकारीसकेका छौँ। यो परिस्थितिमा प्रष्ट र बलिया दक्षीणपन्थी अडानहरु बेगर हाम्रो आर्थिक विकास र उद्दमशीलतामा प्रगती हुने सम्भावना छैन।

सन्तुलनको आवश्यकता (The need for a balance)

सन्तुलनको आवश्यकता (The need for a balance) (Image: bookhuntersholiday.wordpress.com)

हामीलाई वामपन्थ र दक्षिणपन्थ दुबैका प्रावधानहरु आवश्यक छन्, दुबैका उचित संयन्त्रहरुको प्रयोग गर्ने मध्यमार्गी बाटोनै अहिलेको हाम्रो आवश्यकता हो। त्यसकारण दुबैतर्फको उग्रवादबाट समाजलाई बचाउनुपर्ने छ। किनकि अहिले भैरहेकोजस्तो एकतर्फि झुकावले कालान्तरमा अर्कोतर्फको आवाजलाई कमजोर बनाई उठ्नै नसक्ने बनाउने डर हुन्छ। त्यसरी सन्तुलन, बहस र विरोधका मुल आधारहरु नै समाप्त हुँदै जाँदा अन्त्यमा विजयी हुने उग्रवाद नै हो। त्यस्तो ध्रुविकरणबाट हाम्रो समाजलाई बचाउनु र सन्तुलन बनाइराख्नु जरुरी छ, त्यसको निम्ति हामीलाई सशक्त मध्यमार्गको आवश्यकता पर्दछ। तर मध्यमार्गको महत्व बुझ्न सन्तुलित समाजमा मात्र संभव छ, हैन भने अहिले जस्तो बामपन्थीकरण भएको समाजमा मध्यमार्गले लिने अडानहरुलाई नै दक्षिणपन्थी भनी आक्रमण हुनेछ र निरन्तर उग्र वामपन्थतर्फ स्खलित भईराखेको समाजमा उनीहरु धेरै समय टिकिराख्न सम्भव हुँदैन। एउटा कक्षामा सबैजना शान्त स्वभावका विद्यार्थीहरु भए भने अलिकति पनि बोल्ने विद्यार्थी त्यो कक्षाको उग्र र अडमिल्दो सदस्य हुनपुग्दछ, त्यसरी नै पुरै बामपन्थी बनिरहेको र दक्षिणपन्थ मरिरहेको समाजमा मध्यमार्गीहरुलाई नै उग्र-दक्षिणपन्थीको रुपमा चित्रीत गरी उनिहरुलाई पाखा लगाउन उग्र-बामहरुलाई खासै मेहेनत गरिराख्नुपर्दैन।

अहिले हाम्रो समाजको सन्तुलन हराएको छ। यो समाजलाई प्रजातान्त्रिक, सभ्य र अग्रगामी बनाउने हो भने राजनीतिले चुकेको भुमिका समाजका अरु अङ्गहरुले खेल्नुपर्दछ। माथि उल्लेख गरिएका समाजका सबै तहहरुबाट अब एउटा सबल दक्षिणपन्थको निम्ति स्थान बनाउनु आवश्यक छ। मिडियामा अब त्यस निम्ति आवश्यक लेखहरु र सम्पादकियहरु पढ्न पाइयोस्, नागरिकहरुले पनि एकोहोरो प्रोपागाण्डाको पछि नलागी आलोचनात्मक विचारनिर्माण गर्ने बानी बसालुन्, चिन्तकहरु र विश्लेषकहरुले पनि एकापट्टि लत्रेको बिचारको तराजुको अर्को भागमा पनि वजनहरु राख्ने प्रयत्न शुरु गरुन् र अन्य सबैले आ-आफ्नो स्थानबाट जिम्मेवार भुमिका खेल्न सकुन्।

About these ads