कविता: एक हुल गोहीहरु (लेखक – केदार वाशिष्ठ)


एक हुल गोहीहरु

-केदार वाशिष्ठ

नदी किनाराका झुपडीका पीँढीहरुमा
पुसमाघको घाममा लम्पसार परेर
तल बग्दै गरेका
नारायणी¸ गण्डकी र असङ्ख्य
नदीनालाका छाल
अनि शान्त तालतलैयामा
सापटी लिएर
गिद्धका आँखा
अनि तिनमा आफ्नै आँसु भरेर

हिजोआज
एक हुल गोहीहरु
सहर पसेका छन् ।

फेरिएको छ जीवनशैली
चाहिन्न पानी
प्राण धान्नका लागि
स्कच ह्विस्की बियर र वाइनका
बन्द बोतल भए पुग्छ
ठ्वाङ्ङ आवाजसहित
तिनलाई खोलेर
घटघटघट
काँचका गिलासमा
बरफका टुक्राको पहाड पगाल्दै
चियर्स गर्छन्

हिजोआज
एक हुल गोहीहरु
सहर पसेका छन् ।

हुँदैन तिनलाई मिठो
कुनै जलचरहरु
बरु चाखेका छन् तिनले
एउटा नयाँ जीवको स्वाद
पूर्वतिर अलि तल
अनि पश्चिममा माथितिर ढल्केर
विश्वमानचित्रमा
सबैभन्दा उचा नाक भएको
लाम्चो आकृतिको
कुल्चेर ढाड त्यसैको

हिजोआज
एक हुल गोहीहरु
सहर पसेका छन् ।

हो असङ्ख्य सन्तती छन् तिनका
झण्डै तीन कोटी
तिनैलाई सितन बनाएर
सगर छुने नाको लाम्चे जीवको
ढाडमा टेकेर
भाग लगाउँदैछन्
फलमासु¸ हाडखोड¸ अनि बिलोको
तप्प तप्प चुहिएको आलो रगत
आँसुले पखाल्ने गरी

हिजोआज
एक हुल गोहीहरु
सहर पसेका छन् ।


साभार: Literature of Nepali


तपाईँलाई यी कविताहरु पनि मन पर्न सक्छन्:


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s