गौतम बुद्ध लुम्बिनीमा नजन्मिदिएको भए हुन्थ्यो [Guest Post]


साईबेरीयाको एक सहरमा हालै हिन्दु ग्रन्थ भागवत गितामाथि बन्देज लगाएर फेरी फुकुवा गरिएको छ। एकै शताब्दिमा विश्वभरी लाखौँ मानिसहरुको मृत्यु र कैयौँ युद्धहरुको कारण बनेको स्टालिन-लेनिनवादि दर्शनग्रन्थहरुको उद्गमस्थलमा शताब्दिऔँ पुरानो एक पुस्तकलाई अतिवादि भनी बन्देज लाग्नु निकै रोचक विषय हो। रुसको व्यवस्था रुसीहरु नै जानुन्- महान वैज्ञानिक र गणितिज्ञहरुको देश रुसका जनताको दु:खमा हामीले किन टाउको दुखाईराख्ने? पाउनसक्ने दु:ख उनीहरु आफुँले आफैँलाई दिइसकेका छन् र आज रुसी लगायत धेरै टुक्रा भइसकेका पूर्वि युरोपी देशका होनहार वैज्ञानिक र गणितिज्ञहरु बिसौँ शताब्दिभर रुसले विस्थापित गर्न खोजेको राज्यव्यवस्था अङ्गाल्ने देशहरुमा बढ्दो क्रममा पलायन भइराखेकै छन् ।

गितामा बन्देज लागेपछि भारत सरकारले आधिकारिक तर्फबाटै सो विषयप्रति चासो देखाएको थियो। भारतको संसदमा सो कदमको विरोध गर्नुपर्ने जोडदार माग उठेपछि भारतीय सरकार र रुसस्थित राजदुतसमेतले रुस सरकारसँग आफ्नो विरोध जाहेर गरेका थिए। धेरै अतिवादि धार्मिक संगठनहरु भएको भनेर चिनिने भारतमा धार्मिक संस्थाहरुले विरोध गर्नु त ठूलो कुरा भएन। यसरी भारतले विश्वस्तरमै गिता लगायत हिन्दु धर्मका प्राचिन सम्पदाहरुका संरक्षक र हकदारको रुपमा आफूँलाई स्थापित गर्दै आएको छ। ईँतिहासप्रतिको सम्मान वेगर आधुनिकिकरणका आवरणहरु सिङ्गारेर मात्रै हुँदैन भन्ने बुझ्नेहरुले गर्ने स्वाभाविक कार्य नै हो यो। भारतको प्रतिष्ठा जसरी बढिरहेको छ र विश्वमा उसको जस्तो सम्मान आर्जन गरेको छ, भारतीय कुटनीतिक दबाबले सो बन्देज फुकुवा हुन केहि मात्रामा योगदान दिएको अनुमान गर्न गाह्रो छैन। यस्ता घटना फेरी दोहोरिँदा भारतकै हात माथि परे पनि अचम्म मान्नुपर्दैन।

Buddha's statue

Buddha's statue in Delhi's airport (source: merewoodnepal.blogspot.com)

यही वर्ष भारतले पहिलोपटक आयोजना गर्न पाएको फर्मुला-वन खेलस्थलको नाम “बुद्ध सर्किट” राख्यो भनेर गनगन गर्नेहरु नेपालमा टन्नै थिए। दिल्लीको अन्तराष्ट्रिय विमानस्थलभित्र बुद्धकै सानदार मूर्ती सजाइएको छ, आफ्नो देशको पर्यटन प्रबर्धन गर्दा सधैँ नै विश्वका दुई महान सभ्यता र धर्महरुको जननीको रुपमा भारतले आफ्नो प्रचार गर्दछ। हुन पनि बुद्ध जन्मिएका मात्र नेपालमा हुन् र त्यसमा उनको इच्छा र रोजाईको कुनै भुमिका थिएन। उनले बुद्धत्व प्राप्त, ज्ञान प्रचार र मृत्युवरण गरेका स्थानहरु सबै नै हालको भारतमा छन्। आखिर भारतीय सम्राट अशोकले छोडेर गएका प्रमाणहरुकै बलमा नेपालको लुम्बिनीमा बुद्ध जन्मिएका हुन् भनेर संयुक्तराष्ट्रसंघले मान्यता दिएको हो। उनै अशोककै नयाँ प्रमाणहरु भेटिएको भन्दै आजकल भारतको उरिसालाई बुद्धको जन्मथलो हुनसक्ने भनि अनुसन्धान चलिरहेको छ। लुम्बिनी घुम्नुभएको छ भने थाहा हुन्छ: त्यहाँ हामीले खासै केहि गरेका छैनौँ। उत्खनन गरेर प्रमाण बटुल्ने कामहरु मूख्यत विदेशीहरुले गरेका थिए, प्रमाणित गरिदिने उ-थान्त कालिन संयुक्तराष्ट्रसंघ थियो र अहिले त्यहाँका अधिकांश गुम्बा र अन्य संरचनाहरु पनि जापानी, कोरीयाली, श्रिलङ्काली, थाई आदिहरुले बनाएका हुन्। नेपालमै बुद्धधर्मको प्रवेश निकै ढिलो भएको मानिन्छ र प्रवेश भइसकेपछि पनि तिब्बती सभ्यतासँगको संसर्ग यसको पहिचान बनेको छ। स्वतन्त्र तिब्बतको योजनामा यत्ति धेरै गोराहरु र तीनका पैसा नलागेको भए कतिजना विदेशीहरु “बुद्धको जन्मथलो” भनेर चेपारो पार्दै हाम्रो देश आउने थिए होलान्? अनि आफ्नो लघुताभाषमा लगाउने मलम खोज्न हामीले तेन्जिङ्घ नोर्गे अथवा अन्य कुन चाहिँ विषयको खोजी गर्ने थियौँ होला ?

लाग्छ हाम्रा काम कसैले बुद्धको कुरा गर्दा नेपाल जोडिदिएन भने रिसाउने, गाली गर्ने, फिल्म र पुस्तक जलाउने, फेसबुकमा छिमेकी देशका राष्ट्रपितालाई अपमान गर्ने देखि लिएर हजारौँ सम्मिलित समूहहरु बनाउनेमै सीमित छन्। बस् यती। बुद्धमाथि हक जमाउन हामीले साँच्चै के गरेका छौँ? जे गरेका छन् त्यो बुद्धले आफैँ जन्मिदिएर गरेका छन्। बर्षौँ-वर्ष केहि नगरी मासिक घरबहाल आम्दानीमा रवाफ गरेजस्तै बुद्धको प्रख्यातीसँगै जोडिन पाए हामीपनि प्रख्यात हुन्छौँ भन्ने हामीलाई लाग्दो हो- तर मदर टेरेसाको जन्मस्थल पहिलेको अल्बानिया र हालको म्यासेडोनिया हो भनेर हामी कतिजनालाई मतलब छ?

बुद्धको जन्म, धरोहर र बौद्धकालिन सभ्यताको साँच्चै हामीलाई मतलब हुँदो हो त हामी प्रथमत: उनका शिक्षाहरु अबलम्बन गर्ने र अरुलाई सिकाउने कार्य गर्थ्यौँ। हामी अध्ययन-अनुसन्धान र सोध गर्ने सबल व्यक्ति र निकायहरु बनाएर पहिले थाहा नभएका हाम्रा इतिहास र सभ्यता सम्बन्धि विषयहरु खोतलेर विश्वको ज्ञानभण्डार बढाउने थियौँ। हामी पुस्तक र जर्नलहरु प्रकाशन गर्ने थियौँ, सम्मेलनहरु गरी विश्वभरका मानिसहरुसँग छलफल गर्ने थियौँ, स्मारक र सङ्ग्रालयहरु बनाउने थियौँ। पाली र संस्कृतजस्ता यस क्षेत्रका प्राचिन भाषा र लिपीहरु र तिनमा लेखिएका-बोलिएका सामग्रीहरु खोजी-खोजी अध्ययन गर्थ्यौँ, संरक्षण गर्थ्यौँ र भावि पिढीँलाई सो ज्ञान हस्तान्तरण गरेर उनीहरुलाई अझ सबल बनाउन तीनको बारे पठनपाठन गराउँथ्यौँ। हामी आफ्ना यस्ता कार्यहरुबारे गर्व महसुस गर्ने मात्र होईन, विश्वमा आफ्नो मौलिक पहिचान र आफ्ना धरोहरहरुका कारणले अरुबाटपनि सम्मान प्राप्त गर्थ्यौँ।

वास्तवमा गीता लगायत हिन्दु र बौद्धधर्मसम्बन्धि धेरै विकास पुरै प्राचीन भारतवर्षमा अविछिन्न रुपमा भएको हुँदा ती सबै साझा धरोहरहरुप्रति हामी सबैको समान हक लाग्दछ। अहिले ठूलो र शक्तिशाली देश भएर भारतको नाम बढि सुनिएपनि हिन्दु र बौद्धधर्महरु जति भारतीय हुन्, त्यति नै नेपाली पनि हुन्। भारतले जतिसुकै आधुनिक बन्दै गएपनि जनस्तर र सरकारी दुबै तहबाट आफ्ना यस्ता धरोहरहरुको बारे हक जमाउन लायक कार्यहरु गरिरहेको छ। हामी चाहिँ आफूले नबनाए अरुले पनि घर नबनाओस् भन्ने मानसिकताको उपजजस्तो लाग्ने गरी बुद्ध हाम्रो भएकोले भारतले उनको नाम उच्चारण लगाएत अरु पनि केहि गर्नै पाउँदैन भन्दै हो-हल्ला गर्नैमा मख्ख छौँ।

माथिका हरफ पढेर लुम्बिनीको बर्तमान परिचय केवल विदेशीहरुले स्थापित गरिदिएका हुन् भन्ने सोच्नु गलत हुनेछ। लुम्बिनीसम्बन्धी प्रमाणहरु खोजी गर्न र उक्त स्थानलाई विश्वसम्पदाका रुपमा सूचिकृत गर्न त्यतिबेला नेपालमा रहेका संस्था र व्यक्तिहरुको ठूलो योगदान रहेको छ- उनीहरु बिना शायद हामी कहिल्यै पनि बुद्धको जन्मस्थल नेपालमा रहेको प्रमाणित गर्न सक्ने थिएनौ र अति नै विवादित सो विषयमा भारतले आफ्नो दाबी प्रस्तुत गरेको भए हामीसँग आफ्नो घाऊ आफैँले चाट्नु बाहेक अरु विकल्प हुँदैनथे। नेपाल गरिब भएर खोजी र अनुसन्धानमा पर्याप्त ध्यान दिन सकेन भन्नुपनि केहि मात्र सत्य हो। गरिब भएर निर्लज्ज भएको कि निर्लज्ज भएर गरिब भएको भनेर अर्को दिन बहस गरौँला तर अहिले पनि चाहने हो भने पर्यटन र अन्य श्रोतहरुका आम्दानी प्रयोग गरेर गर्न सकिने धेरै अवसरहरु हामी खेर फालिरहेका छौँ। नेपालमा विभिन्न संस्था र व्यक्तिहरुको विकास हुँदै गर्दा हामीले कम्तिमा एक पद्दती स्थापित गरी उनीहरुलाई प्रोत्साहन र संरक्षण प्रदान गरेको भए स्वाभाविक गतिमै त्यस्ता कार्यहरु अघि बढ्ने थिए होलान्। तर बिडम्बना, हामीले भएका त्यस्ता संरचनाहरु पनि एक-एक गर्दै ध्वस्त मात्र गरिराख्यौँ।

एकपटक केहि घटनाहरुबारे हाम्रो स्मृती ताजा गराऔँ।

सन् १९०५ मा प्रकाशित एक पुस्तकमा कलकत्ता बाट आएका विद्वानहरुले नेपालको दरबार पुस्तकालयमा प्राप्त अभिलेखहरुको अध्ययन गर्दा “प्राचिनताको हिसाबले दुनिँयाको कुनै पनि संस्कृत पुस्तकालयलाई उछिन्ने सामग्री” भेटिएको टिप्पणी गरेका छन्। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका संस्कृतका प्राध्यापक र कलकत्ताको एसियाटिक सोसाईटिका भारतीय विद्वानले त्यस्ता केहि सामग्रीहरु जम्मा गरेर प्रकाशित गरेका थिए र हालै त्यसलाई विद्युतीय ढाँचामा सोहि बेलायती विश्वविद्यालयले उपलब्ध गराएको छ। भारत र नेपालका विभिन्न भाषामा लिखित ती सामग्रीहरुमा बौद्ध सभ्यता, औषधिविज्ञान, खगोलशास्त्र, राजनीति, दर्शन, साहित्य लगायत भारतवर्षको ईँतिहास समेटिएको विवरण लेखकहरुले प्रस्तुत गरेका छन्। तीमध्ये कति प्रकाशित भए र कति अझ लुकेका छन्- कति सो पुस्तकालयमा थिए र कति बाहिर भन्ने सबै थाहा हुन कम्तिमा दशकौँ लाग्न सक्छ। यस्ता धेरै सामग्रीहरु हामीसँग थिए र अझै होलान्।

हत्तपत्त विदेशी आक्रमणहरुको समयमात्र हुने पुस्तकालय ध्वस्त पार्ने कार्य नेपालमा सन् २००२ मा हालको सत्ताधारी दलकै कार्यक्रमको दौरान देख्न पाईयो। अति दुर्लभ सामग्रीहरु भएको दाङ्गको महेन्द्र संस्कृत विश्वविद्यालय र पुस्तकालयमा आगो लगाई ५०,००० भन्दा बढि ऐतिहासिक पुस्तकहरु नष्ट गरिए। बाकीँ रहेका अन्य थुप्रै राम्रा चिजहरुपनि एक-एक गर्दै ध्वस्त गर्ने, विस्थापित गर्ने र त्यसबाट “नयाँ” श्रृजना गर्ने योजना अनुरुपनै नेपालमा धेरै पात्रहरुका गतिविधिहरु चलिरहेका छन्।

उपनिवेशकालीन बेलायतीहरुले आफूसँग जोरी खोज्ने नेपाली शासकहरु विरुद्ध तीतो पोखी लेखिएका इतिहासका पुस्तकहरु र पछिल्ला समयका केहि पश्चिमाद्वारा दिक्षित नेपाली प्रगतीशील विद्वानहरुमा भएका संरचना ध्वंस गर्ने उद्दतता समकालीन नेपालको परिचायक हो। स्टालिन-लेनिनवादी दर्शनको आँखाले पुराना सबै गलत र ध्वंसनिय देख्नु र औपनिवेशिक प्रभावले आफ्ना जति सबै दुश्मन देख्नु त्यति आश्चर्यजनक नहोला। त्यसैले सोहि अनुरुपको मनस्थिती बोकेर देश सम्हाल्न बसेका मानिसहरु आफ्ना नीति र कार्यहरु संचालन गरिरहँदा बाँकीँ हामीहरु मूकदर्खकमा सिमित छौँ। त्यस्तै सुन्ने र भन्ने दुबैले आ-आफ्ना ईच्छा अनुसार सहभागी भएको समारोहमा भारतबाट डाकिएका डा करण सिंहले वेदान्तमा प्रवचन दिँदा “नेपाल धर्म निरपेक्ष देश भएकाले” ट्विटरमा आपत्ति जनाउने एक “आधुनिक” लेखिका हरुजस्ताको एकोहोरो ढङ्गको बौद्धिक तानाशाहीमा हामीसँग ताली बजाउनु भन्दा निकै कम विकल्पहरु उपलब्ध छन्। यस्तो चरम अनुशासनहीनता र असभ्यता वर्णन गर्न प्रयुक्त “दण्डहिनता” भन्ने शब्द अपर्याप्त छ। तर हामी बहादूरीको ईतिहास भएको भनिने देशका कायरहरु त्यही शब्द प्रयोग गर्दैमा पनि रिसाउलान् कि भनेर नरम बन्नुपर्ने आवश्यकता महशुस गर्दछौँ।

यसरी हरेक दिन बुद्धलाई मारीरहँदापनि पनि निर्लज्ज भएर उनको जन्मको दावी गरिराख्न हामी हिच्किचाउदैनौँ। यस्तो देशमा बुद्धलाई किन जन्मिनुपरेको होला?


यो ब्लग प्रकाशित भइसकेपछि लेखकले थप्न चाहेका कुराहरु:

सच्याइएको (12th Jan, 2012): माथि भनिए जस्तो दिल्लीको विमानस्थलमा रहेको मूर्ती गौतम बुद्धको हो भन्ने भरपर्दो प्रमाण भेटिएन। एक कमेन्टकर्ताले भनेजस्तै सो मूर्ती अग्नीदेव वा सूर्यदेवको पनि हुनसक्छ। यद्दपी, ५४-फिट अग्लो बुद्धको मूर्ती सोहि विमानस्थलमा निर्माणाधिन रहेको (गार्डियन पत्रिकाको लिङ्कपनि), बुद्धका हातहरु अहिल्यै पनि विमानस्थल भित्र सजाइराखेको र अन्य क्रियाकलापमा पनि भारतले बुद्धप्रति सम्मान व्यक्त गर्ने गरेको र अपनाउने गरेको हुँदा माथि मैले गरेको तर्कमा भने कुनै परिवर्तन गर्न जरुरी छैन। अग्निदेव वा सूर्यदेवकै मूर्ती सजाए पनि ती धार्मिक र प्राचिन आस्थाका प्रतिक नै हुन्।

गल्ती औँल्याइदिनुभएकोमा कमेन्टकर्ता suedip joshi लाई धेरै धन्यवाद ।


8 thoughts on “गौतम बुद्ध लुम्बिनीमा नजन्मिदिएको भए हुन्थ्यो [Guest Post]

  1. “बुद्धमाथि हक जमाउन हामीले साँच्चै के गरेका छौँ? जे गरेका छन् त्यो बुद्धले आफैँ जन्मिदिएर गरेका छन्। ” यो भन्दा बढी केही भन्न पर्ने म देख्दीन😦

  2. well founded and broad based opinion. thnx for sharing.

    however, the stature in the caption is of ‘agni dev’ , when it is clearly inscribed in the structure itself. it is interesting to see that majority of nepalese people easily buy that the given statue is of Buddha.

  3. yasta mahan byakti jaha janme pani biswokai sampada hun.unko gyan ra darsanma kasile hak khojna namile pani,unko janma esthanko hak khojne addhikar hami nepalilai 6.bauddha margi hau ya buddhko janma esthanko hak khojne santikami nepali,yas mahan kamko lagi “bali” chdna pani tayar hunu par6.hamra saskriti hamra parampara,hamro mato ko utpadanlai hamile maya nagare kasle garne?aru ta sirsak nai kafi 6,yas sirsak ka sirjanakarlai salam.dharmik aasthalai hami aarthik aasthama paribartan garau.desko jay hos.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s