डरलाग्दो ध्रुविकरण


यो ब्लगको सन्दर्भ प्रख्यात कवि श्रवण मुकारुङले काङ्ग्रेस प्रवेश गरेको घटना हो। तर विषय भने कवि मुकारुङ होइनन्- हरेक हप्ताजसो कसै न कसैले पार्टि परीवर्तन गरीरहेकै छन्। र विषय मुकारुङको काङ्ग्रेस प्रवेशको औचित्य पुष्टि गर्नु पनि होइन। नेपालमा लोभ, लाभ, पद, संरक्षण जस्ता कारणले पनि पार्टि प्रवेश र परिवर्तनहरु गरेका उधाहरणहरु धेरै छन्।

मैले पहिलेदेखि नै लेख्नेगरेजस्तो नेपालमा नरम स्वर सुन्न निकै मुश्किल बनाइएको छ। मैले भनेको कुरा नै सम्पूर्ण जनजाती मुलका मानिसको माग र धारणा हो, र सो पुरा नभए यस्तो गर्दिन्छौँ भनेर धम्कि दिनेहरु छन्। सबैजना मधेशी मुलका मानिसहरुको स्वर मैले बोलिरहेको छु, र मैले भनेजस्तो नभए उस्तो गर्दिन्छौँ भनेर अर्काथरीहरु समाजमा त्रास फैलाउँछन्। हिन्दु धर्मावलम्बि र पहाडेहरु सबै ठग र शोषक हुन्, तिनीहरुको बारे मैले जे-जे गालि गर्छु, त्यो नै सम्पूर्ण सत्य हो, सबैले त्यसै नगरे देखौला भन्नेहरु पनि छन्। यो कुरा सत्य होला कि सबै मधेशीहरुले आफुलाई गरिने गरेको भेदभाव विरुद्धको अभियानलाई समर्थन गर्छन्। यो पनि सत्य होला कि नेपालका विविध किसिमका मानिसहरुलाई समानरुपमा अवसरहरु नदिइएको र संस्कृतिहरुको पर्याप्त सम्मान नगरिएकोमा सबै जनजातीहरु रुष्ट छन्।

Division and polarization, Nepal (picture: nepalitimes.com)

Division and polarization, Nepal (picture: nepalitimes.com)


तर यसलाई कहाँसम्म तन्क्याउन सकिन्छ, र सोको प्राधिकार कोसँग हुन्छ? के सारा जनजातीहरु नेपालबाट हिन्दु वा बौद्ध धर्म र नेपाली भाषाको उन्मुलन भएपछि मात्र नेपालका अनेक विभेद र असमानताहरु अन्त्य हुन्छ भन्ने विश्वास गर्छन्? के सबै मधेशीहरु हिन्दी भाषालाई प्रवर्धन गरेको पनि ठिक मान्छन्? के उनिहरु तराईमा एक वा दुईमात्र प्रदेश हुनुपर्छ भन्ने विश्वास गर्छन्? के उनीहरु पहिलेको भन्दा ठूलो शोषण निम्त्याउने निश्चित रहेको विदेशीलाई जथाभावि नागरीकता वितरण कार्यसँग सहमत छन्? र सँगै वसोवास गर्ने अन्य नेपालीहरुसँगको बढ्दो दुरीबाट खुशि छन्? के सबै पहाडे बाहुन-क्षेत्रीहरु नेपालमा राजतन्त्र रहोस्, केन्द्रिकरण भएर काठमान्डुको मात्रै विकास होस्, अन्य सबै मानिसहरुको सफाया होस् र शोषण-विभेदयुक्त समाज कायम रहोस् भन्ने चाहन्छन्?

संविधान सभा भङ्ग हुने समयतिर हामीले धेरै स्थानमा सुनेका र पढेका हौँ कि माथि भनिएजस्तै रेडिमेड आरोप र आक्रमणहरु देखि डराएर कतिपय प्रबुद्धहरुले आफ्नो भनाई राख्दा अनावश्यक झमेला भोग्नुपर्ने हुँदा चुप रहन चाहेका थिए। यसले गर्दा यी आरोपका सर्जक र प्रचारकहरुलाई झनै फाइदा पुग्यो, किनकी उनीहरु आफ्ना कुराहरुमा असहमत हुनेहरुको आवाज दबाउन सफल भए र त्यसलाई सर्वसम्मत विचार रहेको भ्रम फैलाउन प्रयोग गरे।

वास्तविक भीडतन्त्र यहि हो, र अहिले समाजका धेरै क्षेत्रहरुमा देखिएको भीडमुखी समस्या समाधानको मुख्य प्रेरक पनि यहि प्रवृति हो। फरक विचार र असहमति राख्नेलाई वैचारिक र भौतिक घेराबन्दी गरेर आरोप-आक्रमण गर्ने अनि चर्को हल्लाकै भरमा आफ्नो पक्षको विचारलाई अकाट्य सत्य भएजसरी स्थापित गर्ने। वहस गर्ने सभ्य तरीका र विधि-नियमको पर्वाह नगरी सबैकुराको फैसला भीड र सडकबाट गर्ने, अनुचित दवावहरु श्रृजना गर्ने, व्यक्तिगत गालिगलौज र आक्रमणहरु गर्ने जस्ता कार्यहरु अहिलेको नेपाली सभ्यताको परिचायक बनेको छ।

युद्धकालमै पढ्न पाइएको थियो, युद्धको मोर्चाको साथै समाजका चरम ध्रुविकरण नगराएसम्म विजय मुश्किल हुन्छ भन्ने स्विकारोक्ति। यसैकारण नै राजा विरुद्ध पार्टिहरु, राजा विरुद्ध भारत, अमेरीका विरुद्ध भारत, अमेरीका विरुद्ध युरोपेली संघ, गिरीजा बिरुद्ध शेरबहादुर, एमाले बिरुद्ध माले जस्ता सकेजति सबै तिकडमहरु अपनाइएका (वा शक्तिकेन्द्रहरुको स्वार्थको निम्ति अपनाइएका) हुन्। यसले देशको आन्तरीक स्वास्थ्य र बाह्य कुटनीतिमा कति घाटा पुग्यो, पछि लेखाजोखा होला नै। त्यसैगरी जनता विरुद्ध बन्दुक र जनता विरुद्ध अरु जनता पनि यहि रणनीतिको प्रमुखता थियो। ध्रुविकरण प्रयास हालसम्म जारी नै छ। कहिले यो देशमा दुई शक्तिमात्र बाकिँ हुन्छन्: काङ्ग्रेस र माओवादी त कहिले यो देशमा राजावादी र माओवादी मात्रै दुई शक्ति रहन्छन् भनिरहनु बाकिँ रहेका विविध विचारधारीहरुलाई पाखा लगाउने वा ती दुईमध्ये एकतिर लाग्न वाध्य बनाउने भन्ने नै हो।

brb

Baburam Bhattarai: the most divisive and polarizing figure in Nepal (picture: nepalitimes.com)

रुकमाङ्गद कटवाल काण्ड पश्चात भएको भारत-बिरोधि सुरुङ्गे-राष्ट्रियताको नाटकले यो लेखकलाई अझ भयानक ध्रुविकरणको संभावना बारे चिन्तित तुल्याएको थियो। हुन त त्यतिबेला सो ध्रुविकरण पुरै सफल हुन पाएन, तैपनि उल्लेख गर्न चाहन्छु। आफ्नै देशका संसदको बहुमतले चुनिएका प्रधानमन्त्री (माधव कुमार नेपाल), लोकतान्त्रिक सेना र छिमेकी देश सबैका बिरुद्धको शायद हालसम्म देखिएका मध्ये सबैभन्दा उग्र थियो सो अभियान।

त्यसबेला लेखकको डर यसप्रकार थियो:

  1. नेपालको उग्र भारत-विरोधि कृयाकलाप र अस्थिरताद्वारा भारतलाई चिढ्याउने, उसको आन्तरिक सुरक्षामा खतरा भएको महशुस गराउने (सीमानामै गएर उग्र कृयाकलाप गरिएको थियो)। परिणामस्वरुप उसलाई नेपालमा हस्तक्षेप गर्न निम्त्याउने।
  2. भारत वा बृहत अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा सेना पठाउन वाध्य बनाउने।
  3. भारतको र उसको हस्तक्षेपको त्रास देखाएर देशमा चरम ध्रुविकरण गराउने। विदेशी हस्तक्षेपको समयमा यस्तिसम्म ध्रुविकरण हुनसक्छ कि देशको रक्षार्थ सेना र सारा जनता माओवादीको पक्षमा लाग्ने स्थिति आउनसक्छ। उसले चाहेको पनि त्यहि हो।
  4. त्यसपछि विदेशीसँग सम्झौता गर्ने र आफु नेपालको एकमात्र सर्वेसर्वा शक्ति हुने।

यो एक राम्रो युद्धनीति हो, र धेरै देशहरुमा सफल प्रमाणित पनि हो। ध्रुविकरणले सानो स्वर र संख्या भएकाहरु, मध्यमार्गीहरु, फरक विचार राख्नेहरु, र नियमपूर्वक आ-आफ्नो काम गर्न चाहने र अन्य झमेला मननपराउने मान्छेहरुलाई विस्थापित गर्दछ। यसले कि पलायन हुन कि कुनै र कुनै पक्ष लिन वाध्य बनाउँछ।

Shrawan Mukarung (picture: setopati.com)

Shrawan Mukarung (picture: setopati.com)

श्रवण मुकारुङले के कारण काङ्ग्रेस प्रवेश गरे, त्यो मलाई थाहा छैन। तर उनको प्रवेशले केहि महत्व भने अवश्य राख्दछ। उनी नेपालका सम्मानित र चर्चित कवि हुन्, र एक जिम्मेवार सर्जक भएको नाताले उनको व्यक्त गरेका विचार राम्रो-नराम्रो जे भएपनि ध्यान दिन लायक पक्कै हुन्छ। उनले प्रष्ट रुपमा आफुलाई क्षेत्रीयता र जनजातीको नाममा भइरहेका केहि राजनीतिक कार्यहरु मननपरेको विचार दिएका छन्, र साथमै उनले स्वतन्त्रता, विश्वमा कम्युनिष्ट विचारधाराको सान्दर्भिकता र लोकतन्त्रको बारे आफ्नो धारणामा परिपक्वता आएको जनाएका छन्। जनताको लेखकले आवश्यक पर्दा कुनैपनि पार्टिको आलोचना गर्नुपर्ने हुनसक्छ। त्यस्तो अवस्थामा पनि असक्षम नेताहरुले भरिएको, घाटमा पुगिसकेको भनेर चिनिएको र सकिनसकि केहि फरक मतलाई आवाज दिइरहेको काङ्ग्रेसमै किन जानुपरेको होला त? हाम्रा विकल्पहरु कति साघुँरो बनाइएका रहेछ भन्ने कुराको यहि एउटा उधाहरण हो। र रेडिमेड आरोपहरु र भीडतन्त्रको कारण फरक धारणा राख्न हिटकिचाहट भएपनि अति हुनलागेको देखेपछि पक्ष लिनैपर्यो भन्ने उनलाई लागेको हुनसक्छ।

नेपाली समाजका चर्को विभाजन चाहने र सोबाट निर्माण हुने चरम ध्रुविकरणको फाईदा लिएर आफ्नो एकाधिकार जमाउने प्रयासमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सङ्गलग्नहरुको निम्ति यो एउटा सन्देश हो। केहि समय देखि नियोजित रुपमा सञ्चालन गरिएको यस अभियान र यसका सहभागीहरुको निम्ति समाजमा तिमीहरुले चाहेको जस्तो एकरुपता र एक-विचार मात्रै छैन भन्ने सन्देश उनीहरुले बुझ्न चाहेमा आजकल विस्तारै र धिमो रुपमा कतैकतै देख्न थालिएको छ। आशा गरौँ छिट्टै यो सन्देश पढ्न उनीहरु सफल होउन् र यस्तो हानीकारक, घृणामुखि र विभाजनकारी राजनीतिको चक्रबाट हामी सबैले मुक्ति पाऔँ। त्यसपछि हामी सबैले वाध्य भएर पक्ष लिनै पर्ने वा आफ्नो मुख्य काम बाहेकका राजनीतिक कृयाकलापमा पनि ध्यान दिएर उत्पादनमुखि समय खेर फाल्नु नपरोस्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s