सेतोपाटीका बारेमा केहि शब्द



सेतोपाटीले उनिहरुको ठूलो ऋृण खाइदिएको छ र तुरुन्तै चुक्ता गर्नुपर्छ जस्तो गरी नेपाली “प्रगतीशिलहरु” किन व्यवहार गरिरहेका छन्? कतै बाबुरामका भ्रष्टाचारहरुको खुलासा गरीदिएकोको र जति लखेट्न खोज्दा पनि सेतोपाटीका पत्रकारहरु नडराएकोले त उनीहरु यति हैरान भएका हैनन्? मेरो विचार तल पढ्नुहोला।


नेपालका “प्रगतीशिलहरु” को जति बखान गरेपनि यो लेखकलाई पट्यार लाग्दैन। साह्रै रमाइला जीवहरु। थुप्रै किस्सा र कहानीहरुका पात्रहरु, अनन्तसम्मका लागि। शायद चुट्किलाहरुका पनि। केहि उधाहरणहरुबाट शुरु गरौँ। यिनलाई विश्वशक्ति अमेरीकाको न्युयोर्कमा मानिसहरुले गरेका प्रदर्शनहरु र WTO सम्मेलन स्थलमा हुलदङ्गाकारीहरुले गरेका ढुङ्गामुडा निकै क्रान्तिकारी र प्रगतीशिल लाग्छ। तर बानेश्वर वरपर केहि इन्टरनेट चलाउने नेपालीहरुले शान्तिपुर्ण धर्ना दिएको देख्दा भने निकै औडाहा लाग्छ। कम्युनिष्टहरुमध्ये पनि महा कम्युनिष्ट देश क्युवाको हवानामा खानेपानी आपुर्ती गर्ने जिम्मा निजी कम्पनीहरुलाई दिइएको छ। यो निकै जनमुखी, अग्रगामी र प्रगतीशिल कार्य कहलिन्छ, तर नेपालमा हुने कुनै पनि प्रकारको “निजी” भन्ने शब्द झुण्डिएको विषय कसैले उठायो कि उ एकैपटक समानता-विरोधि शोषक, सीमित हुनेखाने वर्गको प्रतिनिधि, दक्षीणपन्थि, प्रतिगमनकारी र साथैमा संघियता विरोधि बन्न पुग्दछ।

हिजो ट्विटरमा भुतपूर्व प्रधानमन्त्री मरिचमान सिंहको निधनबारे एक वेवसाइटले गरेको कभरेजप्रति केहि प्रगतीशिलहरुको प्रतिक्रिया पनि संग्रह गरेर राख्नुपर्ने निकै रोचक घटनाको रुपमा मैले लिएको छु। विभिन्न विचार आउनु र वादविवाद हुनुलाई म सामान्यरुपमा लिन्छु। वास्तवमा पाठकका प्रतिक्रिया र आलोचनाहरुलाई सो वेवसाइटले सकारात्मक रुपमै लिन्छ होला। तर मेरो लेखको आशय त्यो भन्दा फरक अझै रोचक क्रियाकलापबारे हो।

सेतोपाटीको परिचय

नेपाली इन्टरनेट प्रयोगकर्ताहरुमाझ अहिले सेतोपाटी भन्ने वेवसाइट लोकप्रिय बनेको छ। शुरु भएको ५ महिना पुग्दा नपुग्दै मैले चिनेका धेरै मान्छेहरु आजकल नेपालसम्बन्धि समाचार र विचारहरुको निम्ति यहि वेवसाइटमा भर पर्न थालेका छन्। सेतोपाटी सञ्चालन गर्ने समुह पनि बेजोड छ। मुलधारको छापा-पत्रकारीतामा निकै लोकप्रियता, व्यवसायीकता र नैतिकता कमाएका व्यक्तिहरुले सञ्चालन गरेको यो वेवसाइटको स्तर (मेरो विचारमा) अहिलेसम्मका सबै नेपाली समाचारमुलक वेवसाइटहरु (पत्रीकाहरु को वेवसाइट को कुरा गरेको होइन) भन्दा अब्बल छ। मलाई त कतिपय विषयमा मुलधारको दैनिक पत्रिकाभन्दा यो वेवसाइटको तरीका मनपर्छ।

उधाहरणबाटै प्रष्ट पारौँ। हालै जनमत सङ्ग्रबारे दुई विपरीत विचारहरु उत्तिकै महत्वका साथ यस वेवसाइटमा प्रकाशित भयो। माओवादी नेता कृष्णबहादुर महराबारे समाचार छापिएको भोलिपल्टै मुखपृष्ठमा उनको स्पष्टिकरण पनि छापियो। कमल थापाले बाबुरामहरुबारे गरेका खुलासाहरु र बाबुरामको प्रतिक्रिया पनि एकैठाउँमा यो वेवसाइटले राखेको थियो। बाबुराम र अरुले गरेका थुप्रै भ्रष्टाचार सम्बन्धि सशक्त सामग्रीहरु यसले प्रस्तुत गरेको थियो। त्यस्तै समाज र मानवीय पक्षका सामग्रीहरु, साहित्य स सङ्गित, महाकालीको बाढि आदिबारे यसमा राम्रा लेखहरु छापिएका थिए। यि सबकै कारण यो वेवसाइटले यस्तो इज्जत र लोकप्रियता कमाउन सफल भएको हो।

मरिचमान सिंह र सेतोपाटी

सेतोपाटीजस्तो वेवसाइटको निम्ति आफ्ना सामग्रीहरु धेरैले पढुन् र छलफल गरुन् भन्ने कुराले पक्कै पनि प्राथमिकता पाउँछ होला। त्यसकारण त्यसमा कुनै विषयले धेरै कभरेज पाएका छन् भने एउटा कारण के हुनसक्छ भने त्यो विषयमा मान्छेहरुले धेरै भिजिट गरिरहेका छन्, वा धेरै सामग्रीहरु माग गरिरहेका छन्। मरिचमान सिंहबारे को नेपाली जनमत त्यसै विकसित भएको होइन। उनले गरेको कुनै राम्रो कामको उल्लेख गरेर त्यसको आधारमा कसैले प्रशंसा गरेको मैले सुनेको छैन। प्रतिक्रिया दिने धेरैलाई उनको बारे केहि महिना अघिसम्म थाहा पनि थिएन होला। उनको प्रशंसा वर्तमानप्रतिको विरक्तता र असुन्तिष्टिको सङ्केत हुनसक्छ। सेतिपाटिभन्दा पहिले नै मैले मरिचमान बारे फेसबुकमा पोष्टहरु देखेको थिएँ, त्यसकारण सेतोपाटीले मरिचमानको निम्ति बजार तयार पारेको भन्दा यस विषयमा बजार देखेर सेतिपाटिले उपयोग गरेको पनि हुनसक्छ।

तर सेतोपाटीले मरिचमान सिंहको बारेमा कभरेज गरेबाट के-के निश्कर्षहरु निकाल्न सकिने रहेछ भनेर नेपाली प्रगतीशिलहरुलाई नै सोध्नुपर्ने हुन्छ, किनकी उनीहरुलाई भन्दा अरु कसलाई नै सत्य कुरा थाहा हुन्छ होला र? त्यसमाथि पनि यति रोचक तरीकाले कुनै पनि घटनालाई तोडमोड र अरिरञ्जना शायदै अरु कसैले गर्नसक्छ होला।

प्रथम कारण हुनसक्छ कि सेतोपाटीका मानिसहरुलाई मरिचमान वा पञ्चायत वा राजतन्त्र साह्रै मनपर्छ होला (नेपालको कानुनले यसो गर्न बन्देज लगाएको छैन)। दोश्रो कारण हुनसक्छ कि उनीहरु कुनै षडयन्त्रका अङ्ग हुन्, जसले नेपालको निकै कोमल शान्ति प्रक्रिया र साह्रै कमजोर अग्रगमको यात्रामा अवरोध हाल्न चाहन्छन्। कोमल र कमजोर मैले भनेको होइन, अनुमान मात्रै गरेको, किनकी छुस्स कसैले केहि बोल्यो वा लेख्यो कि भङ्ग भइहाल्ने र भत्किहाल्ने चीजलाई भन्ने अरु शब्द भेट्टाइन। उनीहरु नेपालको पुरानो सत्ताका मतियारहरु हुनसक्छन्। उनीहरु खराब पत्रकार हुनसक्छन् र पत्रकारीताको मर्म विपरीत कार्य गरिरहेका हुनसक्छन्। उनीहरु पहाडे-खस-हिन्दु-पुरुष वादि अहङ्कारीहरु हुनसक्छन्, जसले नेपालको सारा इतिहासमा जस्तै अहिले पनि सबैकुरा विगारेको विगारेकै छन्, त्यसकारण उनीहरुलाई इतिहासले, समयले (र पाएदेखि हामीले) सजायँ दिनुपर्छ। सेतोपाटीले हामीलाई लागेकोजस्तो लेखेन भने माथिका सबै कारणहरु सत्य हुनसक्छन्। नत्र यत्रो पक्षधरता किन?

इन्टरनेटमा लेखेको कुरा मन नपरे आफुलाई मनपर्ने कुरा लेख

सेतोपाटी अरबौँ वेवसाइटहरुमध्ये एउटा वेवसाइट हो। यो वेवसाइटमा लेखेको कुरा मन नपरे नपढ्न पाइन्छ। झुठो कुरा छापे सोहि वेवसाइटमा कमेण्ट लेख्न पाइन्छ। माथि उधाहरणहरु दिएजस्तो सेतोपाटीमै पनि फरक विचार छाप्नसक्ने सम्भावना खुलै छ। त्यतिले पनि नभए आफ्नै वेवसाइटहरु खोलेर प्रतिवाद गर्न र आफुलाई लागेको कुरा लेख्न कसैले रोकेको छैन। इन्टरनेटमा खोजेर र रोजेर पढ्नेले पढिहाल्छन्। कमल थापाको विचार छाप्यो भन्दैमा र आफुले चाहेजस्ता लेखहरु पस्केन भन्दैमा यस्तो क्रोध किन? आजकल कमल थापाका कुरा जसले पनि छापिरहेको छ। सेतोपाटीले केहि ऋृण खाइदिएको छ र भर्खर नै तिरिदिनुपर्छ जस्तो व्यवहार किन?

यो एक वेवसाइट हो, पत्रिकाजस्तो यो “समाचार-मिडिया” होइन। पत्रिका छाप्नजस्तो लाइसेन्स, ठूलो लगानी, प्रेस मेसिन आदि पनि चाहिँदैन। पत्रकारीतासँग जोडिएर आउने समाजप्रतिको दायित्व र चौथो अङ्गको भुमिका निभाउने वाध्यता पनि हुँदैन (यो फरक कुरा हो कि मेरो विचारमा सेतोपाटीले यो दुबै भुमिका निभाउन आफु सक्षम रहेको देखाएको छ)। त्यसकारण यसबारे प्रतिक्रिया दिने अरुलाई पनि “पहुँच” वा असमानताको समेत कुनै अवरोध छैन। उनीहरु ट्विटर चलाउँछन् भनेपछि इन्टरनेट चलाउन पनि जानेका छन्। पैसा छैन भने पनि सित्तैमा वेवसाइटहरु बनाउन प्रशस्तै पाइन्छ। (यदि यत्ति जानकारी नभएर नगरेको हो भने चाहिँ म पहुँचको असमानता कम गर्नको निम्ति सित्तैमा वेवसाइट खोल्न सहयोग गर्न तयार छु)।

लखेटेको लखेट्यै

त्यसोभए किन यत्रो विवाद? थोरै पृष्ठभुमीमा जाऔँ। सेतोपाटीका अधिकांश मानिसहरु पहिले नागरिक भन्ने पत्रिकामा काम गर्थे। शायद उनीहरुलाई पत्रकारिता मनपर्ने भएरै सो पेशा रोजेका होलान्। तर उनीहरुलाई त्यहाँबाट लखेटिएको हो भन्दा कुनै अतिशयोक्ति हुँदैन। यस लेखकले व्यक्तिगत रुपमा पाएकै सुचनाहरुका आधारमा, पहिले दुई सम्पादकहरु नारायण वाग्ले र अमित ढकाल, त्यसपछि विस्तारै अन्य पत्रकारहरुलाई सो पत्रिकाबाट निकालिएको वा निस्कन वाध्य पारिएको थियो। अलि अपुष्ट, तर करीब-करीब काठमान्डुमा सबैले थाहा पाएको कुरा के हो भने यसो हुनुको कारण यि पत्रकारहरुले नागरिकमा विधिको शाषण, लोकतन्त्र, स्वतन्त्रता र न्यायको निम्ति लिएको अडान र गरिरहेको निडर पत्रकारिता नै हो। सो मिडिया-हाउसमा नेपालको सबैभन्दा धनी र डरलाग्दो पार्टिको अध्यक्षको प्रत्यक्ष लगानि (करोडौँमा) र सोसँग जोडिएर आएको सर्त अनुसार यि पत्रकारहरुलाई त्यहाँबाट लखेटिएको थियो। यसप्रकार आफुलाई मनपर्ने पेशाबाट यिनीहरु बेरोजगार भएर बस्नुपर्यो। एक हिसाबले भन्ने हो भने प्रगतीशिलहरुको आँखाका कशिङ्गरहरु यिनिहरु मिल्किए, उनीहरुले चाहेकै भयो।

तर अब यत्तिले पुगेन। उनीहरुलाई इन्टरनेटमा यो सबै गर्ने छुट कसले दियो? यहाँबाट पनि नलखेटि भएन। नेपाली प्रगतीशिलहरुको कुरा यत्ति नै हो।

प्रयास नगरेको होइन

यहाँहरुलाई याद होला, नेपाली प्रगतीशिल खेमाका मुख्य नायक तथा एक पूर्व प्रधानमन्त्रीले पीठमा धाप मार्दै एउटा वेवसाइट शुरु भएको थियो, “रातो” नाम भएको। सारमा भन्दा उसको उद्देश्य सेतोपाटीले लेखेका “झुठहरु” को प्रतिवाद गर्नु नै थियो। जमिनमा जस्तै इन्टरनेटमा पनि पैँठेजोरी खेल्न तयारी गरेरै आएको पनि हो। त्यो वेवसाइटमा कुन स्तरका सामग्रीहरु छापिन्थे भन्ने कुरा यहाँहरुलाई थाहै छ होला। त्यसमा लेखेका कमेण्टहरु पनि केहि दिनमा मेटाइने गरिन्छ।

त्यहि वा अन्य वेवसाइटमा आफुलाई मनलागेको कुरा लेखेर, प्रतिवाद गरेर, सत्यको आफ्नो संस्करण सबैलाई थाहा दिए भैहाल्यो नि। दिनभरी बहुला जस्तो कुनै एकरुपता र सङ्गती नभएका ट्विट र गालीहरु गरेर बस्ने समय बरु सेतोपाटीले गरेको “हानी” कम गर्न लेख लेखे हुने, वेवसाइट चलाए हुने। त्यसमाथि नेपालका प्रगतीशिलहरु आफैँ हुनेखाने वर्गका र शक्तिकै मुहानमा बास बसिरहेका मानिसहरु छन्। प्राय दिनदिनै हरेकजसो पत्रिकामा उनीहरुका गालि, उपदेश र भजनहरु छापिएकै हुन्छन्। उजुरी कोसँग गर्न खोजेको हो, के सुनुवाई चाहिएको हो र कतिसम्म अरुसबैका स्वरहरु दबिनुपर्ने हो, थाहा पनि उनीहरुलाई नै होला, तरिकापनि उनीहरुसँगै होला। प्रयास जारी राके सफलता अवश्य भेटिन्छ कि?

सेतोपाटीलाई शुभकामना

सेतोपाटीलाई यो प्रवृति उदाङ्गो पार्न सफल भएकोमा धेरै धन्यवाद र बधाई। एउटा पाठकको रुपमा तपाईँहरुको वेवसाइटको प्रगतीको निम्ति शुभकामना। साथमा एउटा अनुरोध: तपाईँहरुको श्रोतको बारेमा थाहा छैन, तर साँच्चै तपाईँहरुको कामको निम्ति श्रोतको आवश्यकता परेको छ भने आह्वान गर्नुहोस्, स्तरीय सामग्रि पस्कने वेवसाइटको निम्ति पाठक र शुभचिन्तकहरुले आ-आफ्नो तर्फबाट सहयोग गर्नसक्छन्।

म स्वयं पनि तपाईँहरुका राम्रा लेखहरुको निम्ति आफ्नो क्षमता अनुसारको केहि रकम सहयोग (donation/support) स्वरुप प्रदान गर्न तयार छु। मैले अरुमा पनि यस्तो चाहना देखेको छु।

7 thoughts on “सेतोपाटीका बारेमा केहि शब्द

  1. मैले लेख सरसर्ति पढे; सकारात्मक लेख प्रति धन्यबाद | तर म एकदुइ अरु कुराको बारेमा नि उठान हुनुपर्छ भन्ने मान्यता राख्दछु | सेतोपाटीको संचालनका आम्दानिका श्रोत के हुन् ? यो के को भरमा चलिरहेको छ ? कि पुरानै छापा पत्रकारिता जस्तै “बिना तलब” पत्रकार कै सैलीमा संचालित हुन् ?

  2. तपाइको कुरा चित्त बुझ्यो युशाफ़्ट जी !

    अनि एनोनजी,
    मलाई के लाग्छ भने, त्यति साइट चलाउनलाई पैसा नै चाहिन्छ भन्ने हुदैन ! आफ्नो बचत गरेको रकमबाट सेतोपाटी चलेको हुनसक्छ ! साइट हिट भैसकेपछि यस्ता आम्दानीका बाटा धेरै खोज्न सकिन्छ ! यति साइट खोल्दा त विना पैसा किन काम गरिस भन्छन भने, काठमाडौँमा, जहाँ युवाहरु जागिर छोड्दै आफ्ना मोबाइल एप्स बनाएर बसिरहेकालाई के भन्छन होला? यत्ति कुरो बुझ्नु, “केही काम गर्न पैसा नै चाहिन्छ भन्ने दरिद्र मानसिकता त्याग्नु जरुरी छ” ! यो नेपाली अनलाइन पत्रकारिताको क्षेत्रमा ठुलो फड्को हो !

    We’ve to encourage the entrepreneurship in our country. Setopati is filling the gap of online/digital journalism in Nepal. You know, print will be dead in Nepal in next 8-10 years. Please read this: http://www.quora.com/Entrepreneurship/I-want-to-become-an-entrepreneur-where-do-I-start (If you want to start your own site, you don’t need money. All you need is determination and vision.)

    Thank you.

  3. समाज यतिसम्म बिग्रिसक्येा कि राम्रेा वा नराम्रेा जे पनि सवै उनिहरूकेा नजरमा बेठीक हुने भएर हेाला सायद दिनमा दुइहजार मान्छे बाहिरिन्छन् जेा पनि सायद झुटेा हेाला तीनै प्रगतिशील भनिएका एक्काइसैां शताव्दिका राज्यदेाहनकर्ताहरूलाइ जसकेा एकांश उनिहरूकेा पेट पालाइकेा माध्ययम भएकेा कुरा, रेमिट्यान्स नै मुलुक धान्ने एकमात्र माध्ययम बनेकेाले, पुराण सुन्ने भालुहरूलाइ के थाहा । म राष्ट्रबादी भन्दा प्रतिक्रियावादी, म केही अर्न चाहन्छु भन्दा माअेावादी, यही राज्यब्यवस्था शंसेाधन गरी नया व्यवस्था अवलम्बन गरीनुपर्छ भन्दा काँग्रेसवादी वा यस्तैयस्तै अाबरण प्रदान गरीने सतीले सरापेकेा मुलुकमा नढाँटेर भन्नुपर्दा सच्चा नेपाली भै बाँच्नै गाह्रेा भकेा महसुस भएकेा छ । कर्मचारी बने कुख्यात भ्रष्टाचारी नभइ अाधुनिक स्याबासी र उपल्लाहरू वा माथिका हरूकेा स्यावासी नपाइने, उद्येागपती वने खै कतिवटा पार्टी पाल्नुपरी देशवाटै विस्थापित भइनुपर्ने, केही भइएन र राष्टका वारेमा किसानी कुरै गर्नपनि कतिवेला कां के हेाला शसंकित भैरहनुपर्ने, खै कस्तेा मुलुककेा नागरीक भइएछ । अनि हल्ला सुनेकेानुसार यस्तेा देशकेा मुलुककेा नागरीकता लिन किन केाही मुलाहरू लागीपरेका, अचम्म छ । यस्तै हेा हजुर पिर नमानैाँ । पत्रकारीता क्षितिजविहिन छ यसमा दुइमत छैन । बिरेाध गर्नेहरू सायद सेतेापाटीकेा सती जान अातुर भएर हेाला रन्थनिएकेा, हजुरकै भाषामा, त्यसैले पत्रकारीता अमर विषय हेा भनी उनीहरूलाइ “Cave of the Darkness” बाट प्रशिक्षित गराउनु सतीले सरापेकेा देशमा सेतेापाटीकेा धर्म हुनेछ जस्तेा लाग्छ हजुर ।

  4. सेतोपाटीले आजभोली के कुरामा जोड दिईरहेको छ भने “अरूले गलत गरेर आफु सत्य भईन्छ” । मैले पत्रीका पत्रीकाको बीचमा कुरो गरेको होईन । बाबुराम-प्रचण्डहरुले गलत गरे भनेर, कमल थापा सही हुदैनन् । तर सही हुन भनेर प्रमाणीत गर्न खोजीरहेको छ । यदी उनी सही हुन्छन् भने गल्तीहरु सच्याएर आउनुपर्छ, त्यत्तीकै अरुले गलत गरेर सही हुन सक्दैनन् । साथै सेतोपाटीमा के खाल्का बिश्लेषण छापीन थालेका छन् भने , ” एउटा चोरले पयो भने अर्को चोरलाई कीन नदीने” । कोही सचेत नागरीकले कल्पना गर्न सक्दैनन् की अर्को चोरलाई अबसर दिईनुपर्छ । बरु हामी तयार छौँ की सेतोपाटीलाई सहयोग गर्न (चोरलाई अबसरबाट बन्चीत गर्न ) ।

  5. बाबुराम जस्ता लठ्ठुहरु प्रगतिशिल होईनन्,
    न त तिमीजस्ता पुँजीबादका भाडाका टट्टुहरु सही हौ ।

  6. सेतो पाटीको टिम लास्ट पुछारमा छ नि त्यो पढ्नु भाको छ कि छैन ?
    राम्रो काम लाइ राम्रो र नराम्रो काम लाइ नराम्रो भन्न सक्नु नै पत्रकारिताको धर्म हो ! सेतो पाटीले गर्दा त्रिसुली ठेक्का रद्ध, बाबा स्वामी कमल नयनाचार्यको कर्तुत आदि लाइ बिर्सन मिल्छ ? राम्रो काम गर्ने लाइ हौसला दिनु पर्ने ठाउँमा नकारात्मक सोच्नु राम्रो होला र ? तपाइँ ले जे सोच्नु भाको थियो मैले पनि सेतो पाटीको टिम संग येही प्रश्न सोधेको थिए “बिना एड पत्रिका कसरि चल्छ ? … मैले जवाफ चैँ यस्तो पाए ! हामि सबै ठुला घराना मा काम गरेका पत्रकार हरुको टिम मिलेर यो संचालन गरेका हौ ! हामीलाई अहिले एडको जरुरि परेको छैन र जुन दिन पर्छ हामि मार्केटमा जान्छौ ! अन लाइन पत्रिका, ब्लग चलाउन कुन चाहिँ दुखको कुरा हो र ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s