नागरिक अधिकारको पक्षमा कि दमनकारी सत्ता संरचनाको पक्षमा ? [Guest Post]


हामीलाई यो लेख इमेलबाट प्राप्त भएको हो। पाहुना ब्लगको रुपमा यहाँ प्रकाशित गर्दै छौँ।
—————————————————————-

नेपालमा कसैको पक्ष लिन भन्दा विपक्ष लिन सजिलो र सुरक्षित छ। मेरो अनुभवमा सामाजिक सञ्जालमा रचनात्मक बहस गर्नभन्दा कसैलाई सत्तोसराप गाली गरे धेरै चर्चा र समर्थन पाइन्छ। यसो गर्न धेरै जानकारी वा प्रमाण पनि चाहिन्न– शंकामात्र पर्याप्त हुन्छ। सामाजिक सञ्जालका अधिकांश गाली गलौज राजनीतिक प्रतिशोधमा पनि आधारित छन्।

यो लेख सर्वसाधारण नागरिकको तर्फबाट लेख्दैछु। ट्विटरमा यसवापत मलाई आरोप लगाउनेहरुको कमी नभएको हैन। तर, त्यस्ता फाल्तु र अनर्गल आरोपको पर्वाह गर्ने भए म यो सब गरिरहेको नै हुने थिइन। यसो गर्नुको पछाडि मसँग निश्चित कारणहरु छन्।

म हरेक दिन ट्विटर र फेसबुकमा रवीन्द्र मिश्र र कनकमणि दीक्षितहरूलाई मान्छेले अनेक अमर्यादित गाली गरेको देख्छु। खगेन्द्र सङ्ग्रौला, सीके लाल, हरि रोका, प्रशान्त झा, नरेन्द्रजङ् पिटर, बाबुराम भट्टराई र यस्तै अरूले यी दुईका विरोधमा व्यक्तिगत गालीगलौज सार्वजनिक रूपमा गरिरहेका हुन्छन्। उनीहरुमाथि व्यक्तिगत आक्रमण गर्दै समाचार माध्यम र चर्चित ब्लगहरूले समेत लामालामा लेख लेख्छन्। प्रतिशोधात्मक गालीगलौजको स्तर यति निम्न छ कि यसको उद्दरणसमेत अशोभनीय सुनिन्छ।

आफूविरुद्ध लक्षित निम्नस्तरका गालीगलौजका बाबजुद कसैले राम्रो प्रश्न सोधे र छलफल गर्न खोजे यी दुई र यीजस्ता अरुले जवाफ फर्काइरहेको देख्छु। बरु माथि उल्लेख गरेका विरोध गर्ने लेखकहरु सामाजिक सङ्जालमा सकेसम्म देखा पर्दैनन्। आफ्नो धारणा राख्छन् तर अन्तर्क्रिया गर्न चाहाँदैनन्। यिनिहरूका कुरा दोश्रो र तेश्रो चरणबाट प्रशोधन गरेर एकोहोरो विरोध गर्ने दोस्रो दर्जाका हुल्लडबाजसमेत कुनै छलफल र बहस गर्न तयार हुँदैनन्। तयार भए पनि सोहि व्यक्तिगत गालीगलौज र आधारहीन आरोपहरु भन्दा माथि उठ्न सक्दैनन्।

यसो भए तापनि जवाफमा मिश्र वा दीक्षितहरूले सन्तुलन गुमाएको देखेको छैन। मलाई विश्वास छ मिश्र वा दीक्षितहरुलाई आफ्नो विरुद्धमा आलोचनात्मक अभियान चलाउनेहरूका बारे प्रशस्तै यस्ता गोप्य कुरा थाहा छ जुन प्रकाशमा ल्याउँदा चर्चा बटुल्न सकिन्छ। तर यि र ती बारेको फरक नै यहि हो, र हामीले बुझ्नुपर्ने कुरा पनि।

रवीन्द्र मिश्र, कनकमणि दीक्षित र यस्तै अरु मानिसमा कमीकमजोरी होलान् तर उनिहरूले देखाएको शालिनता हाम्रो सुसंस्कृत भविष्यको परिचायक हो। यिनिहरु आलोचना सहन सक्छन्। मर्यादित बहस र तर्क गर्छन्। आ-आफ्नो भएको दक्षता र विवेक प्रयोग गरेर समाजको उत्थानको लागि लागिपरेका छन्। नागरिक अधिकारको निम्ति सके संगठित भएर, नसके एक्लै-एक्लै दमनकारीहरुसँग लडिरहेका छन्। भविष्यले हाम्रो समयका सबैभन्दा प्रेरणादायक व्यक्तिहरु को हुन् भनेर सोध्यो भने यि दुई मानिसहरुको नाम नआए पनि यिनीहरू जस्तै मानिसको नाम आउनुपर्छ। किनकी हामी समुन्नत समाज बन्ने हो भने हामीले अबलम्बन गर्नुपर्ने चरित्र यस्तै हो।

नागरिकहरुलाई जनदुश्मन र अन्य आरोप लगाएर भौतिक र सार्वजनिक आक्रमण गर्ने क्रम जारी छ। यसको विरोध गर्नुपर्छ

नागरिकहरुलाई जनदुश्मन र अन्य आरोप लगाएर भौतिक र सार्वजनिक आक्रमण गर्ने क्रम जारी छ। यसको विरोध गर्नुपर्छ

प्रष्ट पार्न चाहन्छु कि यिनीहरुबाट खराब काम हुनै सक्दैन वा भएकै नहोला भन्न खोजेको हैन। यिनले खराब वा गैह्रकानुनी काम गरेको भेटिए यिनलाई कानुन अनुसार कारवाही होस्। तर संभावनाहरुको आधारमा कसैलाई गाली नै गर्नुपर्ने वा सही चिजको समर्थन गर्न नहुने भन्ने होइन। मेरो यिनिहरूमाथिको समर्थन तबसम्म कायम रहन्छ जबसम्म सार्वजनिक जीवनमा यिनीहरु अहिलेजस्तै दागमुक्त भएर रहन्छन्। त्यसो नरहेको दिन तपाईँसँगै म पनि आलोचनामा उत्रौँला।

अर्को कुरा, यिनको बिरुद्ध देशको सबैभन्दा शक्तिशाली र धनी पार्टी र तिनले सञ्चालन गरेका संस्था, लेखक, सम्पादकहरु खुलेरै उत्रँदा पनि मैले कुनै भरपर्दो आरोप भेटेको छैन। अहिले त विपक्षी दल सँगै सत्ताधारी दल, विदेशीका एजेन्सी, तिनका बिचौलिया पनि पछि परेका छन्। यति मेहेनत गरेको विपक्षीले यिनको बारेमा के-के सम्म छानविन गरेन होला अहिलेसम्म? के निहुँ भेट्टाउँला र उछितो काँडौला भनेर बसेकाहरूले केहि गल्ति भेट्टाएको भए बाकिँ राख्थे होला अहिलेसम्म?

एकछिनलाई यि व्यक्तिको ठाउँमा आफुलाई राखौँ, आफ्ना नातेदार वा सन्तानलाई राखौँ। के नेपालमा कसैले स्वतन्त्र प्राज्ञिक काम गर्नै नपाउने हो? कसैले राज्यका दमन र गलत कदमहरु विरुद्ध आवाज उठाउनै नपाउने हो? त्यसो भए भविष्यका सन्ततीहरुको निम्ति कस्तो नेपाल बनाउँदै छौँ हामी? नेपालमा भएका अध्ययन-अनुसन्धान संस्थाहरु राजनीतिक हस्तक्षेपले भुत्ते भइसके। राज्यश्रोतमा पार्टीवालाहरुको मात्र हक लाग्नेजस्तो स्थिति छ। उद्योग धन्दा र स्वतन्त्र तवरले व्यापार-व्यसाय गर्न पाउने वातावरण छैन। यस्तो स्थिति भएको राज्य र तिनका पार्टीहरुको दास बन्नु बाहेक सुरक्षा र समर्थन पाउने अरु के तरीका छ? यिनलाई मन नपर्ने जे काम गरेपनि चौतर्फी आक्रमणको शिकार बन्नुपर्ने यो देशमा कोहि स्वतन्त्र काम गर्न सक्ने क्षमता भएको मान्छे किन बस्ने?

प्रतिष्ठित भनिएका सञ्चारमाध्यमका त कुरै छोडौँ ब्लगका नाममा समाचार र लेख प्रकाशित गरेर संसारभरका नेपालीसँग डलर र रियाल खातामा पठाउन रोइकराइगर्दै अनुरोध गर्ने माइसन्सारले समेत बौद्धिक ढंगको प्रतिष्ठित पत्रिकाका सञ्चालक र प्रकाशकविरुद्धमा दुईपैसे टिप्पणीका साथ गालीगलौजको अभियानमा उत्रनु हामी सबैका लागि लज्जाको विषय हो।

एकछिन दीक्षित र मिश्रलाई पर राखौ। हामी आफू, आफ्ना सन्तान, नातेदार वा मित्रहरुलाई सोचौँ। केहि गर्ने क्षमता भए र स्वतन्त्रसँग आफ्नो विचार राख्न चाहे यस्तो वातावरण भएको देशमा उनीहरू के आशले बस्लान्? दीक्षित र मिश्रसँग त यस्ता आलोचनासँग जुध्नसक्ने क्षमता र शक्ति होला। तर हाम्रा छोरा-छोरी वा साथीभाईमाथि यसरी सत्ता र शक्ति खनिए उनीहरूसँग के विकल्प हुन्छ? त्यस्तो डर र त्रास भएको समाजमा के प्रगती सम्भव हुन्छ?

मिश्र र दिक्षितका सबै काम-कुरामा मेरो सहमति नहोला। हुन आवश्यक पनि छैन। मलाई परोपकार नै समाज परिवर्तनको आधार हो जस्तो लाग्दैन, तर विमती राख्ने, विरोध गर्ने एउटा मर्यादित तरीका हुन्छ। यिनलाई विरोध गर्नेहरुले अति अमर्यादित गाली गलौजको प्रयोग गरेको देख्छु। त्यस्तालाई किन जवाफ दिनु पर्यो जस्तो लाग्छ। तर यिनले जवाफमा गाली गर्दैनन्, राम्रो शब्दमा सकेको जवाफ दिन्छन्। यहि “मैले जे भने पनि यसले गाली गर्ने हैन क्यारे” भन्ने ढुक्ख भएर यस्तो अमर्यादित बन्ने बल आएको हो कि?

मिश्रजीले चलाउनुभएको हेल्प नेपाल नेटवर्क भन्ने संस्था र त्यसका कामहरु कमी-कमजोरी सहित पनि निकै सह्रानिय लाग्छ मलाई। राज्यका सबै अङ्ग र निकाय धराशायी भएको आजको हाम्रो परिस्थितिमा त्यत्तिको लगन, निष्ठा र इच्छाशक्तिले त्यत्रो ठूलो सञ्जाल चलाउनु चानचुने काम होइन। त्यो पनि नेपाल जस्तो खुट्टा तान्न सिपालु र गालीगलौज लाई मख्ख पर्न लायक उपलब्धि मान्ने समाजमा। त्यत्तिको काम कुनै अरु क्षेत्रमा अरुले गरेको मलाई थाहा छैन। नेपाललाई परनिर्भर नबनाउन आफ्नै सबल अर्थतन्त्र, बजार र उद्योग-उद्यमहरु चाहिन्छन्। तर साथैमा यस्ता आफैँले आफैँलाई सहयोग गर्ने कार्यक्रम र योजनाहरु पनि चाहिन्छन्। आफ्ना समाजका समस्याहरु समाधान गर्ने आफैँले यसरी पहल गर्नु हाम्रो समाज सक्षम र सभ्य बन्दै गइरहेको कुराको साक्षी हो। त्यसैले नै मैले भनेको यस्ता मानिसहरु हाम्रा सुसंस्कृत भविष्यका प्रतिनीधिहरु हुन्।

हिमाल साउथएसियन भन्ने प्रकाशन (यो पत्रिका होइन) र संस्था हामीले समर्थन गर्नुपर्ने कुरा हो। नेपालका प्राज्ञिक शोध वा अनुषन्धान लुप्त बनिसकेको आजको समयमा केहि नभएपनि दक्षिण एसियामा यो संस्थाले नेपालको तर्फबाट प्राज्ञिक प्रतिनिधित्व गरेको छ। नेपालमा मात्र नभएर समग्र दक्षिण एशियाका प्राज्ञिक वा वौद्धिक क्षेत्रमा सक्रिय मानिसले हिमाल साउथएशियन महत्त्वका साथ पढ्छन् ।

पत्रिकाका लागि आवश्यक सन्दर्भसामग्री उत्पादन गर्ने कामका लागि यस क्षेत्रमा विद्वान वा प्राज्ञिक व्यक्तिहरूलाई निम्ता गर्ने, छलफल गराउने, अरु देशमा नेपालको तर्फबाट विचार पुर्याउने निजी क्षेत्रको यो प्राज्ञिक काम त हामीले देशभित्रैबाट श्रोत जुटाएर सहयोग गर्नुपर्ने हो। तर नेपालको आर्थिक र औद्योगिक क्षेत्र धरासायि बनाइएकोले सबै क्षेत्रमा झैँ यसमा पनि विदेशीको सहयोग को भर पर्नुपर्ने स्थिति रहेछ। त्यो पनि अनुसन्धान, सोध कार्य र यस्ता प्राज्ञिक कामहरु गर्न सबैतिर यस्तो रकम लिने गरिन्छ। यो त विदेशी दुतावासले दिएको छात्रवृत्तिमा कोहि पढ्न गयो भने त्यसको विरोध गरेको जस्तो भएन र? यो सहयोग आउनुअघि नै दुई दशक देखि यस संस्थाले उच्च गुणस्तरको पत्रिका र बहस चलाइरहेको हो। नत्र कुनै पत्याउने आधार नभएको शंकास्पद प्रोजेक्टमा रकम आएको भए विरोध गर्ने एउटा आधार पनि हुन्थ्यो। तर देशी-विदेशी विज्ञहरुको टोलीले अनुगमन गर्ने र संचालन गर्ने यो काममा षडयन्त्र र दुरुपयोगको आरोप लगाउँदा हामीले केहि प्रश्न गर्नु पर्दैन?

आलोचना अस्वाभाविक होइन। तर, आलोचनाका निश्चित पद्दति हुन्छन्, तरिका हुन्छन्। आलोचनाको बहानामा बचाऊमा आक्रामक गालीगलौज गर्दैनन् भन्दैमा यिनको अपमान गर्नु, यिमाथि आक्रमण हुँदा खुच्चिङ् भनेर चुप लागेर बस्नु नालायकी हो। हामीले त्यस्तै किसिमको समाज बनाउन खोजेको भए अर्कै कुरा। नत्र हामीले यिनिहरुलाई यस्ता आक्रमण हुँदा बचाऊ गर्नुपर्छ।

आफ्ना विरोधीलाई जनदुश्मन भनेर जिउँदै घुँडा भाँचेर निर्दोष मानिसलाई मार्ने, नाबालक सन्तानका आँखाअगाडि बाबुआमाको निर्मम हत्या गर्ने, नभएका लडाकुको नाममा देशको ढुकुटी र विदेशीको सहयोगबाट प्राप्त अरबौँको रकम झ्वाम पार्ने र नेपालका सांसद् किन्न भनेर चीनियाँसँग पैसा माग्ने,अपराधीका विगतका कर्तुत बिर्सेर हामी उनीहरूले चलाएको व्यक्तिविशेषविरुद्धको अभियानमा सामेल हुनु लज्जास्पद कुरा हो।

जनदुश्मन वा विदेशीको मतियारका नाममा व्यक्तिविशेषको मनोबल घटाउने र ध्यान अन्यत्रै मोड्ने कामको विरोध गर्नुपर्छ। अहिले त झन् पुरै सत्ता-संरचना र मिडियाको तप्का समेत यिनिहरुको विरोधमा खुलेर लागेको अवस्था छ। यस्तोमा हामी आफुजस्तै यी नागरिकहरुको पक्षमा उभिने कि दमनको मतियार बनेको सत्ता र उसको सहयोगी मिडियाको पक्षमा? म र तपाईँ मात्रै होइन, यिनको पक्षमा समाजका सबै जागरुक पक्षहरू उभिनु जरुरी छ।

आफुले चिनेका नेताहरुलाई पनि भन्नुहोस्, यिनलाई तारो बनाउने कामको विरोध होस्। कोहि नेताले यो पढ्दै हुनुहुन्छ भने तपाँई पनि केहि गर्नुहोस्, चुप नलाग्नुहोस्। नत्र भविष्यले हाम्रो समयको उपलब्धि के हो भनेर सोध्यो भने उत्तर शून्य होला, र त्यसको जिम्मेवार तपाईँ- हामी नै हौँला।

व्यक्तिविशेषले गर्ने गलत कामको कानुनअनुसार छानविन हुनुपर्छ। प्रचलित कानुनविरोधी काम कसैबाट भएमा उनीहरूमाथि कारवाही हुनुपर्छ। तर, शंका र प्रतिशोधका आधारमा व्यक्तिविशेषका विरुद्ध राज्य वा राजनीतिक दल खनिएको आजको अवस्था नागरिक अधिकार सङ्कटमा परेको सङ्केत हो। विगतको द्वन्द्वका क्रममा मानवअधिकार उल्लङ्घनका जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिलाउने अभिप्रायले माओवादीले चलाएको यो सुनियोजित अभियानलाई साथ दिनु भनेको निरङ्कुशताको मतियार बन्नु हो।

——————-

हरेक दुखद् परिस्थितिमा केही सुखद् सङ्केत हुन्छन्। माओवादी र सत्ताधारीहरुको यो निर्लज्ज अभियानलाई सबैले औँठाछाप लगाएर समर्थन गरेका छैनन्। यसको उदाहरण सेतोपाटीले आज लेखेको सम्पादकीय हो । सेतोपाटीलाई धन्यवाद सहित यस विषयमा मैले प्रकाशीत गरेको टिप्पणी यसप्रकार छ:

नेपाली समाजमा अझै पनि आशा गर्ने प्रशस्त ठाउँहरु छन् भन्ने एउटा प्रमाण हो यो सम्पादकीय ।

नेपाली समाज अतिवाद र निर्लज्जताको सामु लम्पसार परेर कहिल्यै झुक्ने छैन भन्ने सम्भावना जिवितै रहेको देख्दा निकै खुशी लाग्छ । यस्ता सम्पादकीय लेख्ने सक्ने पत्रकार-सम्पादक, संचार माध्यम र तिनलाई साथ दिएर सघैँ उभिन सक्ने जागरुक समाज जिवित रहेसम्म नेपाली जनता र हाम्रो प्रगतीको आशालाई केहि सीमित अतिवादीहरु र तिनको असभ्य हर्कतले हराउन सक्ने छैन।

Advertisements