केहि गर्नुपर्यो


हाम्रो राजनीति र दिनचर्या बढो बेरङ्गी भयो हेर्नुस्, केहि रमाइलो नगरी भएन । चट्ट माइतीघर मण्डलामा जम्मा हुने । महिला, पुरुष सबै । एकदम समावेशी । अनि देखाइदिने ।

Picture: boreme.com

Picture: boreme.com

६ महिनामा संविधान बन्ला ?

बन्दैन । सरकारै ६ महिना चल्ने हो कि हैन, कसरी संविधान आउँछ ? यो सरकार अब ढल्छ ।

हैन भारतले खोजेको चाहिँ के हो ? देश टुक्रिन्छ कि क्या हो ?

बत्ति छैन, ग्यास छैन, कत्ति राजनीतिको कुरा गर्नु यार ?

अब आन्दोलन गर्नुपर्छ, अनि ग्यास पाइन्छ ।

आन्दोलनले ग्यास पाइने भए त भैहाल्थ्यो नि । क्रान्ति नै गर्नुपर्छ, अनि बल्ल ग्यास पाइन्छ ।

हैन, जति क्रान्ति गरेपनि नेतृत्व भएन भने काम छैन, नेतृत्व विकास गर्नुपर्छ ।

धत्, नेतृत्वले कहाँ हुन्छ ? नियत चाहिन्छ नियत- असल नियत भएन भने जे गरेपनि ग्यास पाइँदैन ।

यस्ता नियत, नेतृत्वले केहि हुँदैन हेर । त्याग गर्नुपर्छ । सबैले त्याग गरे पो देश बन्छ । सबैलाई खानै परेको छ । यस्ता लोभीहरु भएको देशमा कसरी ग्यास पाइन्छ ?

सकारात्मक सोच्न सक्नुपर्यो नि – अनि पो ग्यास पाइन्छ ।

हाम्रो राजनीति बढो बेरङ्गी भयो हेर्नुस् । जहिले हेर्यो उहि कुरा छ । टिभीमा, पत्रिकामा, चियापसलमा । कसैलाई दिक्क पनि लाग्दैन कि के हो ?‍ के गर्ने होला त ? फुटबल खेल्न जाऔँ भन्यो । साथी भन्छ- कहाँ फुटबल खेल्नु ? राज्यको पूनर्संरचना नगरी फुटबल खेल्नु हुँदैन । घुम्न जाऔँ न त, रमाइलो हुन्छ, फ्रेस हुन्छ । हुँदैन, यस्तो विभेदकारी राज्यलाई सहयोग गर्नु हुँदैन, कहाँ घुम्न जानु ? संघर्ष गर्ने बेला छ । सबैलाई आन्दोलित गर्नुपर्छ । जनता नजागेसम्म अब केहि हुन्न यो देशमा । जनता उठाउनुपर्छ ।

जनताको अरु केहि कामै छैन ? खेल्न, मनोरञ्जन गर्न, घुम्न, पैसा कमाउन, पैसा उँडाउन, केहि गर्न नदिएपछि अरु कामै के हुनु ? दिनरात त्यहि समाचार हेर्यो, राजनीति भन्यो । कहिले माथिबाट संविधान खस्ला र खाऔँला भनेर मुख आँ गरेर बसिएको छ । मुखमा संविधान परेपछि रमाइलो गर्न पाइन्छ कि ? कि फेरी संघर्ष गर्नुपर्ने हो ? हत्तेरी कस्तो गाह्रो ।

राजनीति यस्तो बेरङ्गी भयो भने मुश्किल हुन्छ । के हुन्छ, भन्न सकिन्न । बर्षौँदेखि अर्थतन्त्र बिजोग भएर ग्रीसका जनता आजित भएका थिए । राजनीति बेरङ्गी भएको थियो । कोहि नपाएर एकथरी अतिवादीहरु पनि संलग्न भएको गठबन्धनलाई चुनाव जिताएका छन् । विकल्प नभएपछि के गर्नु ? २-४ वर्षमा यिनलाई बेकार चुनिएछ भन्ने भान पर्छ । फेरी अर्को दिक्दारीले जरा गाड्छ । अर्थतन्त्र झन् डामाडोल हुनसक्छ । त्यस्तै बेरङ्गी र डामाडोल हुँदा जर्मनीमा पनि हिटलरले चुनाव जितेका थिए । के गरुन् त जनताले ?

नेपालमा अलि अचम्म छ । कुरा बिग्रिरहन्छ, कहिल्यै बनेजस्तो लाग्दैन । तर बिग्रेपनि पनि ठिक्क ठिक्क मात्र बिग्रने क्या । डामाडोलै नहुने कहिल्यै । अथवा जति भए पनि हामीलाई डामाडोल नै नलाग्ने । “चलिहाल्छ नि” । डामाडोल नै भए एकथरीले भनेजस्तो क्रान्ति हुन्थ्यो कि ? सत्ताको जग पुरै हल्लिएर “जनताको सत्ता” आउँथ्यो कि ?

तर यस्तो बेरङ्गी र दिक्दारी भैरह्यो भने जे पनि हुनसक्छ । पहिला पो राजा थिए, केहि कुरा बिग्रिए, राजा आऊ देश बचाउ भन्न पाइने । फेरी राजाले कुरा बिगार्थे, राजा जाऊ, हामी नै गर्छौँ भन्न पाइने । अहिले कसलाई बोलाउने ? बोलाउन त विदेशीलाई बोलाइरहेका छन्, तर त्यसरी होला त ? विदेशीले गरे पनि फेरी यिनै नेताहरुबाटै काम गराउने हो । आफ्नै फाइदा हुने काम गर्ने हो । त्यो झन् नराम्रो । त्यसैले लोकतान्त्रिक गणतन्त्रात्मक समाधान कस्तो हुन्छ त ? सोचौँ ।

राष्ट्रिय स्तरमै अलि रमाइलो केहि हुनुपर्यो । अलिकता निराशा हटाउने, हाँसो लाग्ने केहि गर्नुपर्यो । घुम्न जाऔँ, फुटबल खेलौँ, चिप्लेटी खेलौँ, गोता मारौँ, जस्तो लाग्नुपर्यो । हामी केहि प्रस्ताव गर्न चाहन्छौँ ।

बेला बेलामा scandal मच्चाउनु पर्यो । scandal मच्चाउनेहरुलाई समाचारमा प्रमुखताका साथ स्थान दिनुपर्यो । अहिलेजस्तो बेसुरका र व्यक्तगित बेइज्जती (विशेषगरी महिलाको) गर्ने समाचार हैन । अलि कलात्मक, अलि रसिलो, अलि रमाइलो, अलि class भएको, तर एकदम scandalous । केहि नगर्ने झुर राजनीतिकहरुलाई केहि गर्न उक्साउनु पर्यो । केहि रमाइलो गर, अनि बल्ल तिम्रो फोटो छाप्छौँ भन्नुपर्यो । नेपाली सिने-नगरी पनि सनसनी विहिन छ । त्यहि राजनीति, समाचार, विचारकै प्रभाव त होला नि ? अन्त सिने-नगरीले मनग्ये सनसनी मच्चाइरहेको हुन्छ, मान्छेको मन बहलाउन सजिलो । कहिले के भिडियो निस्कन्छ, कहिले को मातेर के बितण्डा मच्चाउँछ, कहिले को जेल पर्छ, कहिले कसले पर्दामा दिन नहुने दृश्य दिन्छ, तथानाम बोल्छ । कति गम्भीर हुनु क्या ? क्रिकेट एउटा छ मन बहलाउने । तर यस्तो अग्रगामी देशका हामीलाई त्यति मात्रै ?

छ्या, कस्तो लाजमर्दो । भेराइटै नै छैन । गणतन्त्रमा यस्तो अपमान सह्य हुनै सक्दैन । हामीलाई के सोचेको ? नारा नै बनाईदिउँ: नेपाली जनता के माग्छ, हाम्लाई scandal कम भो भन्छ ! संघर्ष गरौँ ।

राजनीतिक रिपोर्टरहरुलाई बिदा दिएर एकथान पापाराजीहरु नियुक्त गर्नुपर्यो । पत्रिकाले, अनलाइनहरुले । मनोरञ्जनको नाममा त्यहि यौटो संविधानसभा र हाँसउठ्दा विचार र समाचार मात्रै ? पेज १ देखि पुछारसम्म । कस्तो बोरिङ्, हरे । समाचारबाट विचार छुट्याउन नसकिने । विचारबाट ठट्टा छुट्याउन नसकिने । जोक नै गर्ने भए जोकरहरुलाई अलि ठाउँ दिऔँ न बरु । रमाइलो गर्ने भए खुलेरै गरौँ । के यो ल्याङ्ल्याङ् ।

राजनीति मै ध्यान दिने हो भने पनि यो राजनीतिलाई निकास दिन यौटा नेपाली Sarah Palin वा बराबरको पुरुष नेता चाइयो । शब्दजाल,कार्यनीति-रणनीतिको रनभुल्ल र समाचारका निरसता सकिन्थे कि ? इटलीमा अलि अगाडी ग्रीसमा जस्तै जोकरलाई चुनावमा भारी मत दिएका थिए जनताले । तानाशाह, फटाहले दिक्दारीको भोट खोस्नुभन्दा त बरु जोकरले नै खोसेको राम्रो नि, हैन ?

आन्दोलन-विरोधमा पनि नविनता र श्रृजनशिलता खट्केको छ । सधैँ नारा,जुलुस,ढुङ्गा मुडा- दिक्कै भैयो । अब माइतीघर मण्डलामा mooning गर्ने चलन चलोस् न । चट्ट माइतीघरमा जम्मा हुने । महिला, पुरुष, सबै । एकदम समावेशी । बिहान बिहान अफिस जाँदै गरेका मन्त्री, प्रधानमन्त्री र अरु ठुला भनाउँदाहरुलाई मनोहर दृष्यको अवसर दिने । यस्तो पो विरोध । अनि पो दवाव पर्ला । हेर्ने मानिसहरुलाई पनि रमाइलो । बाटो पनि जाम नहुने । किन कसैले यस्तो काइदा नसोचेको होला ? देश साँच्चै अग्रगामी हो भने आँट गरौँ न । ल, कोहि छ ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s