सन्दर्भ : बिसुनी सदाको घरमा बाबुराम भट्टराईको रात्रिभोज


प्रधानमन्त्रि बाबुराम भट्टराई निजी सम्पत्तिमा विश्वास गर्दैनन्। उनले आफ्नो पार्टिको नीति पनि यहि बनाएका छन। सक्दा हुन् त त्यसैलाई देशको नीति पनि बनाउँथे- संविधानमा त्यस्तो व्यवस्था लेख्न खोजेका पनि हुन् र “माओवादि छापको संविधान नबने नस्विकार्ने” समेत बताएकै हुन् (त्यहि भएरै संविधान सभा विघठन गरेका हुन्)। यस्तो मा महोत्तरीका बिसुनी सदालाई प्रधानमन्त्रिको रात्रिभोज व्यवस्था गर्दा ऋण लागेको कुरालाई हामीहरु जसरी बुझ्छौँ, बाबुरामले त्यसरी बुझ्दैनन्। यस समस्याको बाबुरामीय समाधान हो: ऋण दिने मान्छेलाई जबरजस्ति सो ऋण मिनाह गर्न लगाउनु, नमाने आफ्ना पार्टिका लठैतहरु लगाएर बाध्य पार्नु। उनी सबै सम्पत्ति राज्यको हुने अर्थव्यवस्थामा विश्वास गर्छन्। त्यस्तोमा उनले सदाको घरमा गएर खाएको पनि राज्यकै श्रोत हो, नखाए पनि आखिर त्यो राज्यकै थियो। यसलाई उचालेर ठूलो कुरा बनाएको प्रधानमन्त्रिलाई पक्कै मनपर्ने छैन र मौका मिले उनी भन्नेछन्- “यो केहि सिमीत समूहको कुण्ठामात्र हो, यसको कुनै महत्व छैन। हामीलाई थाहा छ कि जनता हामीलाई खाना खुवाउन एकदम खुशि छन् र अरु खुवाउन चाहन्छन्”।

PM Bhattarai with his team at the dinner

PM Bhattarai with his team at the dinner (Picture: ekantipur.com)


प्रधानमन्त्रिले दलितको घरमा गएर खाना खानु राम्रो कुरा हो, यसले जातीय भेदभावको प्रथालाई दुरुत्साहन गर्छ। अझ उनले सार्वजनिक यातायत चढेरै गए हुन्थ्यो, त्यसो गर्दा बाटोमा मानिसहरुले दैनिक रुपमा भोग्ने समस्या र भेदभाव पनि थाहा लाग्थ्यो होला र केहि समाधान पनि निकाल्थे होला। यद्दपी यस्ता समस्याहरु समाधान गर्ने अरु धेरै राम्रा बाटोहरु होलान्, तर प्रधानमन्त्रिले खाना खानुलाई नै म त्यति ठूलो विषय बनाउनेवाला छैन। समस्या गएर खाना खानुमा छैन। समस्या प्रधानमन्त्रि स्वयंले गर्ने शोषण र भेदभावमा छ।

भट्टराई एकदमै पूर्वाग्रहि व्यक्ति भएको तथ्य अब कसैबाट लुकेको छैन। उनी लडाईँमा मरेका आफ्ना पार्टिका मानिस बाहेकलाई शहिद पनि मान्दैनन्। यो भन्दा अघि उनी खाना खान गएको पश्चिमको एउटा घरकी छोरीलाई सेनाले लगेर मारेको रहेछ। उनले माओवादीले लगेर मारेका मानिसहरुलाई साहनुभुती दिन कहिल्यै चाहेका छैनन्, बरु तीनका घाऊमा नुन छर्किन उनलाई मनपर्छ। त्यस्तै बीबीसी नेपाली सेवाको हिजोको रिपोर्टमा पनि “भट्टराई निकट मानिने भरत साहको फुलकहा गाउँमा राती बसेका प्रधानमन्त्रि” भनिएको छ। यसरी हेर्दा आफ्नो पार्टिका खड्गबहादुर विश्वकर्मा मोहन वैद्य खेमामा गएपछि त्यसको राजनीतिक क्षति न्युनिकरण गर्न यि भ्रमणहरुको प्रयोग गरेजस्तै देखिन्छ। त्यसलाई अनेक नाम दिएर “लोकप्रिय” बनाउन खोज्नु उनको चारित्रिक विशेषता नै हो, तर तीनलाई हामीले जस्ताको त्यस्तै पत्याउनु पर्छ भन्ने पनि छैन।

अर्को भेदभाव उनले श्रमको सम्मान नगरेर गरेका छन्। होटेल-रेस्टुराँमा खाएको पैसा माओवादी बाहेक अरुले त तिर्नैपर्छ। अरुको घरमा खाँदा पैसा तिर्न नपरे पनि अरु शिष्टाचारीय नियमहरु हाम्रो संस्कारले स्थापना गरेका छन्। मैले देखेको नेपाली संस्कार अनुसार पनि कसैकोमा पाहुना लाग्दा केहि खानेकुरा कोशेली लिएर गइन्छ र आफुले पनि निम्तो दिएर फर्किइन्छ। चिनेजानेकालाई खानेकुराको पैसा दिँदा अपमान हुने हाम्रो चलन भएकोले यस्तो अप्रत्यक्ष रुपले तिर्ने व्यवस्था बसेको हुनुपर्छ। त्यसमाथी ५०-५० वटा गाडिका लस्कर लिएर खान गएपछि त “दु:ख भयो होला” भनेर काममा सघाइदिनु त अनिवार्य नै हो। हुन त हाम्रा प्रधानमन्त्रि सबै नेपाली संस्कारहरु फ्याँकेर नयाँ संस्कार बसाउने अभियानमा लागेका मान्छे, उनलाई यीनको मतलब नहुँदो हो। तर किसानहरुको श्रमको पुरै अवमूल्यन गरेर प्रधानमन्त्रिले आफ्ना उपलब्धिहरुको सुचीमा “श्रमशोषक”को परिचय पनि थपेका छन्। यसरी कुनै निम्न आय भएको किसानको घरमा अबुझले झैँ दर्जनौँ मानिस बोकेर पाहुना लाग्नु, उनको समय र श्रमको कुनै महत्व नभएजस्तो गरी र आफैँले आर्जेको जस्तो गरी मजासँग खाना खाएपछि आफ्नो बाटो लाग्नु लज्जाविहिनताको राम्रो उधाहरण हो। उनले प्रचार-प्रसार लगायत आफ्ना व्यक्तिगत स्वार्थहरुका निम्ति यसरी निम्न आय भएका मानिसहरुको उपयोग र शोषण गरेर ती मानिसहरु र आफूले प्रतिनिधित्व गर्ने भनेको वर्गकै मजाक उडाँएका छन् ।

बाबुराम भट्टराईले यस्तो गर्नु नयाँ वा आश्चर्यजनक भने पक्कै होइन। उनले चलाएको युद्धको समयमा पनि उनका कार्यकर्ताहरुले गाउँमा जनतालाई दिनुसम्म दु:ख दिएको कुरा जगजाहेरै छ। मानिसहरुका भकारी लुटेको, खानामा “मासु-भात नै चाहिने” उर्दि दिएको र भनेजस्तो नभए खाना फ्याँकेर हिँडेका कुरा लेखक स्यंयले भरपर्दा भुक्तभोगीहरु र कहिलेकाँहि आफन्तैहरुबाट सुनेको हो। भट्टराईबाट ती भन्दा उपल्लो स्तरको व्यवहारको अपेक्षा गर्नेहरुको common sense मा प्रश्न गर्नु बरु बढि उचित हुनेछ ।